News

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन हुने

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन हुने
माघ–२ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच अार्इतबार भएको बैठकले भूकम्प प्रभावितलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको हो । बैठकले निःशुल्क स्वास्थ्य सेवा चिकित्साशास्त्र सङ्काय, काठमाडौँ विश्वविद्यालय, चिकित्साशास्त्र राष्ट्रिय प्रतिष्ठान र पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानलगायतसँग सहकार्य गरी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले भूकम्प प्रभावित जिल्लाका जोखमयुक्त ग्रामीण भेगमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको जानकारी दिए । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आर्इतबारनै जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको प्राधिकरण सहप्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधन परिचालन गरी निःशुल्क रुपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । रासस

निःशुल्क स्वास्थ्य कार्यक्रम राष्ट्रिय पुनःनिर्माण प्राधिकरण

विशेष