News

चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरण गरिँदै

चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरण गरिँदै
माघ–३ । चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा यो वर्ष पनि गैँडा स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले कोसीटप्पुबाट अर्ना ल्याउने काम सकिनेबित्तिकै गैँंडा स्थानान्तरणको प्रक्रिया सुरु गरिने बताए । अघिल्लो वर्ष चितवन निकुञ्जबाट पाँचवटा गैँंडा बर्दिया पठाइएको थियो । दुईवटा बच्चासमेत जन्मिएको र राम्रो देखिएकाले यो वर्षकाे अर्को महिनातिर गैंडा बर्दिया र शुक्लाफाँटामा पठाउने उनको भनाइ छ । तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैँंडा स्थानान्तरण गरिने २०७१ सालको सरकारको निर्णय रहेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । यो वर्ष कम्तीमा १० वटा पुर्‍याउने लक्ष्य रहेको वन्यजन्तु विभागले जनाएको छ । अघिल्लो वर्ष फागुन तेस्रो साता पाँच गैँंडा बर्दियामा स्थानान्तरण गरिएको थियो । यसअघि पटकपटक गरेर निकुञ्जमा ८३ वटा गैँंडा पठाइएको भए पनि अधिकांश चोरी सिकारबाट मारिएका थिए । नेपालमा रहेका ६४५ गैंडामध्ये चितवनमा मात्रै ६०० छ भने बर्दियामा ३४ वटा, शुक्लफाँटामा आठवटा र पर्सा तीनवटा गैँंडा छन् । यस्तै चीनमा लैजान लागिएको गैंँडाको विषयमा समेत दुई देशका अधिकारीबीच छलफल भएको महानिर्देशक खड्काले बताए । ‘उपमन्त्रीसहितको पाँचजनाको टोली आएर वातावरण हेरेर जानुभयो, चाइनामा उपयुक्त छ कि छैन, बाँच्छकी बाँच्दैन भनेर अवलोकन गरेर गइसकेको र निकट भविष्यमै नेपाली टोली जाँदै छ’ खड्काले भने । नेपाली टोलीको अध्ययन प्रतिबेदनअनुसार दुई जोडी गैँंडा पठाइने खड्काले बताए । माघ र फागुन महिनामा गैंडा स्थानान्तरणको उपयुक्त समय मानिन्छ । रासस

गैंडा चितवन निकुञ्ज बर्दिया शुक्लाफाँटा

विशेष