विदेश स्वास्थ्य

एक दम्पती जो कहिल्यै आपसमा आमने–सामने हुँदैनन्

एक दम्पती जो कहिल्यै आपसमा आमने–सामने हुँदैनन्

अमेरिकाको मिनेसोटामा बस्दै आएका दम्पत्ती जोहाना वाटकिन्स र स्कट आपसमा निकै प्रेम गर्छन, एउटै घरमा बस्छन् तर उनीहरु कहिल्यै आमुन्ने–सामुन्ने हुँदैनन् ।

दम्पत्ती भएर पनि उनीहरु एक अर्कालाई छुँदैनन, एउटै कोठामा बस्दैनन, यहाँसम्म कि, पतिको श्वास पनि पत्नीका लागि मृत्युतुल्य हुन्छ तर पनि आपसमा अगाढ प्रेम गर्छन् ।

यो दम्पत्तीको यस्तो बाध्यता एउटा रोगका कारण निम्तिएको हो । जोहानालाई रोग प्रतिरोधी क्षमतासँग सम्बन्धित एक दुर्लभ रोग लागेको छ । चिकित्सकीय शब्दमा यसलाई ‘मास्ट सेल एक्टिभेशन सिन्ड्रोम’ भनिन्छ । यस्तो रोग लागेको मानिसलाई लगभग सबै कुरामा ‘एलर्जी’ हुन्छ, यहाँसम्म कि पति–पत्नीको श्वासमा पनि । जोहाना यही समस्याबाट ग्रसित छिन् ।

पत्नीलाई लागेको यस्तो गम्भीर रोगकै कारण स्कट कहिल्यै जोहानाको नजिक जाँदैनन् । उनले आफ्नो जीवनशैली नै परिवर्तन गरेका छन् । घरमा समय बिताउने तौर–तरिकामा परिवर्तन गरेका छन् ।

जोहाना भन्छिन, ‘हामी सँगै बसेर कुनै प्रोग्राम हेर्न चाहन्छौं तर मेरा कारण पति एउटै कोठामा आउन मिल्दैन । त्यसैले अलग–अलग कोठामा बसेर एउटै प्रोग्राम हेर्छौं अनि एसएमएसबाट त्यसको प्रतिक्रिया आदान–प्रदान गर्छौं ।’

जोहाना घरको माथिल्लो तलामा छुट्टै बस्छिन् । उनका पति स्टक भने तीन तला तल बस्छन् । बाहिरी हावाबाट पनि एलर्जी हुन्छ भनेर जोहाना बस्ने कोठाको झ्याल, ढोका बन्द गरिएको हुन्छ ।

सन् २०१३ मा विवाह हुनुअघि जोहानालाई यस्तो गम्भीर रोगले जीवन यसरी थलिन्छ भन्ने पत्तो थिएन । उनी एक शिक्षिकाका रुपमा काम गर्दै थिइन् । उनलाई त्यतिबेला पनि रोग थियो तर यति गम्भीर अवस्था भइसकेको थिएन । जोहाना र स्कट कतै घुम्न जाँदा शरीरमा दाग देखिने, टाउको दुख्ने भइरहन्थ्यो ।

स्कटको घर मर्मत भइरहेको छ । जोहानाका लागि योग्य कोठा बनाउनका लागि घर खाली गर्नुपरेपछि यो दम्पत्ती हाल एक मित्रको घरमा सरेको छ । जोहाना कै कारण ती मित्रले घरमा खाना पकाउन समेत छाडेका छन् । किनकि विभिन्न परिकार बनाउँदा निस्कने रागले समेत उनलाई एलर्जी हुन्छ । तर पनि स्कटसँगै घरमा बस्नु, उनीसँग फोनमा कुरा गर्नु, बेलाबेलामा म्यासेज गर्नु आफ्नो लागि राहतको विषय बनेको उनी बताउँछिन् ।

एजेन्सीको सहयोगमा

Amrican Dampati

विशेष