News

हिमालय एअरलाइन्सले दुई नयाँ गन्तब्यमा उडान सेवा सञ्चालन गर्ने, मलेसियाको दुईतर्फ भाडा २५ हजार

हिमालय एअरलाइन्सले दुई नयाँ गन्तब्यमा उडान सेवा सञ्चालन गर्ने,  मलेसियाको दुईतर्फ भाडा २५ हजार

माघ – ४ । हिमालय एअरलाइन्स्ले जनवरीभित्र दुई नयाँ गन्तब्यहरुमा उडान सेवा सञ्चालन गर्ने भएको छ । एअरलाइन्सको नयाँ एअरबस ३२०–२१४ बाट मलेसियाको क्वाललाम्पुर तथा म्यानमारको याङ्गुन उडान गर्ने जनाएको हो । नयाँ विमान आएसँगै एअरलाइन्सले माघ २८ देखि क्वाललाम्पुर र फागुन १३ देखि याङ्गुनको सेवा सञ्चालन गर्नेछ। नाइन एन– एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ एअरबस ३२०–२१४ विमानमा १५८ इकोनोमी क्लास सिट क्षमता हुने कम्पनीले जनाएको छ । एअरलाइन्स्ले आफ्नो कार्यकालको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो । २०१७ साल भित्र थप दुई विमान थप्ने योजना बनाएको छ। आन्नददायी यात्राको अनुभव दिलाउन एअरलाइन्स्ले नयाँ विमानमा आरामदायी सीट, नविनतम भिडियो र सांगीतिक खुराक पस्केर इन फ्लाइट इन्टरटेनमेन्ट दिनेछ । हिमालय हप्ताको पाँच दिन क्वालालम्पुर जानेछ भने हप्ताको दुई दिन याङ्गुन उडान गर्नेछ । एअरलाइन्स्ले कार्निभल ट्राभल तथा माइ गोल्डेन लायन एभिएसनलाई क्रमशः मलेसिया र म्यानमारका लागि जेनरल सेल्स एजेन्ट (जेएसए) नियुक्त गरेको जनाएको छ। जेएसएहरुले एअरलाइन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछन् । हिमालय एयरलाइन्सले काठमाडौं—क्वालालम्पुर—काठमाडौंको लागि शुरुवाती टिकटदर २५ हजार ३७५ रुपैयाँमा तय गरेको छ । मलेसियाबाट टिकट लिँदा दुईतर्फी उडानको ९२८ मलेसियन रिङ्गेट पर्नेछ । काठमाडौं—याङ्गुन— काठमाडौंको भाडादर २९ हजार ६०० रुपैयाँ तय गरिएको छ। यङ्गुनबाट टिकट लिँदा राउन्ड ट्रिपको ३२० अमेरिकी डलर पर्ने कम्पनीले जनाएको छ। उक्त टिकटदरमा सरकारी कर थप हुने कम्पनीले जनाएको छ । दोहा र कोलोम्बो उडान गर्दै आएकोमा दुई नयाँ गन्तव्य थपिएसँगै हिमालयको सञ्जाल एशियाली क्षेत्रमा थप विस्तार हुने भएको हो । नेपालचीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स् अगष्ट २०१४ मा स्थापित भएको हो । एअरलाइन्स्ले जेठ १८ देखि दोहाको कतार र अक्टोबर १ २०१६ मा कोलम्बो, श्रीलंका उडान गरेरे अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो ।

Himalaya Airline

विशेष