News

वीर अस्पतालकाे आफ्नै फार्मेसी सञ्चालनमा

वीर अस्पतालकाे आफ्नै फार्मेसी सञ्चालनमा
माघ–५ । नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले बुधबारबाट आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको ३० लाख रुपैयाँबाट फार्मेसी सुरु गरिएको बताए । उनले भने, “फार्मेसीबाट बिरामीले बजार मूल्यभन्दा सस्तोमा गुणस्तरीय औषधी खरिद गर्न सक्नेछन् । अहिले उपलब्ध नभएका औषधी बिस्तारै थप गर्दै जानेछौँ ।” सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्नुपर्ने सरकारले केही वर्षअघि नै निर्णय गरेको थियो । तर धेरै अस्पतालले विभिन्न कारण देखाउँदै फार्मेसी सञ्चालनमा ल्याएका थिएनन् । स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा अनिवार्य रूपमा अस्पताल आफैँले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पताललाई अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नैपर्ने बाध्यता सिर्जना भएको छ । यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालले अस्पताल परिसरमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसकेको छ । यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधी किन्न बाध्य भएका थिए । निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधी पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन खुवाउने चलन थियो । सर्वोच्च अदालतले आदेश दिए पनि निजी फार्मेसीको दबाबमा सरकारी अस्पतालले आफ्नो छुट्टै फार्मेसी सञ्चालन गर्न सकेको थिएन । बिरामीले एउटै औषधीलाई फार्मेसीपिच्छे फरक फरक मूल्य तिर्नुपर्ने बाध्यता थियो । अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधीलगायत अन्य सामग्रीमा लिएको मूल्यभन्दा २० देखि ४० प्रतिशतसम्म छुट हुनेछ । मन्त्रालयले केन्द्रीय अस्पतालमा ३० लाख, क्षेत्रीय अस्पताल २५, उपक्षेत्रीय अस्पताल २० र अञ्चल अस्पतालमा १५ लाख रुपैयाँ बीउ पुँजीका रूपमा पठाइसकेको छ । यसैगरी जिल्ला अस्पताललाई कुल तीन करोड ४४ लाख रुपैयाँ फार्मेसी सञ्चालनका लागि निकासा भइसकेको मन्त्रालयले जनाएको छ । रासस

फार्मेसी वीर अस्पताल

विशेष