अर्थ विदेश

३५ सय निकाल्न जाँदा ७० हजार दिने एटिएम, यस्तो छ कारण

३५ सय निकाल्न जाँदा ७० हजार दिने एटिएम, यस्तो छ कारण

माघ ६ । भारतमा नोटबन्दीका कारण कयौं एटीएम मेशिनमा नगदको खडेरी लागेको छ । राजस्थानको टोंक जिल्लास्थित एक एटीएम मेशिनले भने ग्राहकले मागेको तुलनामा २० गुणा बढी रकम प्रवाह गरेको छ ।

बैंक अफ बडौदाको उक्त एटीएम मेशिनमा मंगलबार जब जितेश दिवाकर नाम गरेका एक ग्राहक रकम लिन गए, उनी चकित परे । उनले ३,५०० रुपैयाँ निकाल्न खोज्दा एटीएम मेशिनबाट ७०,००० रुपैयाँ हात लाग्यो । उनको खाताबाट भने ३,५०० रुपैयाँमात्र कट्टा भएको थियो । एटीएमबाट बढी पैसा आएकोबारे उनले बैंक कर्मचारीलाई जानकारी गराउन्जेलसम्म अन्य ग्राहकले उक्त एटिएम बुथबाट धमाधम रकम निकालिरहेका थिए ।

बैंकका कर्मचारीले एटीएम मेशिन जाँच गर्दा बल्ल प्राविधिक त्रुटी थाहा भयो । एटीएम मेशिनमा रकम राख्ने एजेन्सीले एक सय रुपैयाँको नोट राख्ने ठाउँमा दुई हजार दरको नोट राखिदिएका कारण ग्राहकले २० गुणा बढी रकम पाउने गरेका रहेछन् ।

एटीएम मेशिनमा नोटको दर अनुसारका अलग–अलग ट्रे हुन्छन् । एक सय दरका नोट राख्नुपर्ने ट्रे मा दुई हजार दरको नोट राखिएका कारण मेशिनले २० गुणा बढी रकम प्रवाह गरेको पाइएको हो ।

यो त्रुटी पत्ता लागुन्जेलसम्म एटीएमबाट आठ जनाले रकम निकालिसकेका थिए । प्राविधिक त्रुटीका कारण बढी रकम लगेका ग्राहकको खोजी भइरहेको बैंकले जनाएको छ ।

Indian ATM

विशेष