News

पूर्व-पश्चिम हुलाकी मार्गको निर्माण एक वर्षभित्रै

पूर्व-पश्चिम हुलाकी मार्गको निर्माण एक वर्षभित्रै
माघ - ६ । अबको एक वर्षभित्रै पूर्वपश्चिम जोड्ने हुलाकी मार्गको निर्माण सुरु हुने भएको छ । कञ्चनपुरको वाइसेबिचुवा–९ मा डोकेबजार–बेलौरी, बेल्डाँडी देजी हुलाकी सडक कालोपत्रे सडकको बिहीबार शिलान्यास गरिएको छ । सोअनुसार झापादेखि कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्ग जस्तै हुलाकी मार्ग पनि बन्ने छ । नेपाल र भारत सरकारको सहयोगमा देशका तराईका जिल्लामा १७ हुलाकी सडक बनाउने काम भइरहेको छ । सत्र सडक योजनाको ८० प्रतिशत बोलपत्र आह्वान भई काम सुरु भइरहेको छ । हुलाकी सडकको शिलान्यास गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तराई-मधेसमा मात्रै हुलाकी सडकअन्तर्गत आठ सय किलोमिटर सडक बनाउन लागिएको जनाउँदै कञ्चनपुरकै ठूलो योजनाको हुलाकी सडक बनेमा यहाँको दक्षिणक्षेत्रको आर्थिक गतिविधि बढ्ने आशा व्यक्त गरे । सरकारले रु एक अर्ब १७ करोडको लगानीमा सुरु गरेको ६२ किमी लम्बाइको उक्त हुलाकी सडक तीन खण्ड गरी निर्माणको ठेक्का दिइएको छ । लामो समयदेखि अवरुद्ध रहेको हुलाकी सडक आगामी अढाइ वर्षभित्र निर्माण भइसक्ने बताउँदै मन्त्री लेखकले विकासमा राजनीति गर्न नहुने तर्क गरे ।

Ramesh Lekhak हुलाकी मार्ग

विशेष