News

'अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुहाेस्'

'अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुहाेस्'
माघ - ७ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह वा निकाय जुनसुकै संरचनामा भए पनि निर्वाचन गराउन माग गरे । उनले संविधान संशोधन प्रस्तावसँगै निर्वाचनको वातावरणमा मुलुकलाई केन्द्रित गराउनुपर्नेमा जोड दिए । नेता पौडेलले भने,‘स्थानीय निर्वाचन नगरी सुरुमा केन्द्रीय निर्वाचन गर्ने कुरा हुन सक्दैन । स्थानीय, प्रदेशको निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्नुपर्छ ।’ उनले स्थानीय निकाय पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदन यथावस्थामा कार्यान्वयन हुन पनि नसक्ने स्पष्ट गर्दै प्रतिवेदनमा मधेसी, जनजाति, दलित र उत्पीडित असन्तुष्ट भएकाले समावेशिता र लोकतन्त्रको मान्यता अनुकूल सम्बोधन हुनुपर्ने बताए । नेकपा (एमाले)का भीम रावलले सरकारले मन्त्री पद र संविधान संशोधनलाई साटासाट गरेको आरोप लगाउँदै निर्वाचन घोषणा नहुनु र ‘राष्ट्रियताका प्रतिकूल गतिविधि’ हुनाका कारणबारे प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुपर्ने माग गरे । उनले स्थानीय निकाय पुनःसंरचनाको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै चाँडो निर्वाचनको मिति तोक्न आग्रह गरे । उनले खुला रुपमा देश विखण्डन गर्नेजस्ता कानुन र कूटनीतिक मर्यादा विपरीतका गतिविधि भइरहेको बताउँदै सरकारले यसमा ध्यान नदिएको आरोप पनि लगाए । नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण बिडारीले संविधान संशोधन गर्ने मूल थलो सदन नै भएकाले त्यसलाई कसैले रोक्न नहुने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङले स्थानीय निकाय नहुँदा जनता समस्यामा परेकाले छिटोभन्दा छिटो निर्वाचन हुनुपर्ने माग गरे । राष्ट्रिय जनमोर्चाका मीना पुनले सरकारले छिटोभन्दा छिटो स्थानीय निर्वाचनको कार्यतालिका ल्याउनुपर्ने बताए ।

व्यवस्थापिका–संसद्

विशेष