News

लन्डनका लर्ड मेयर शनिबार नेपाल आउँदै

लन्डनका लर्ड मेयर शनिबार नेपाल आउँदै
माघ–७ ।  बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्मले नेपालको चारदिने औपचारिक भ्रमणका लागि शनिबार अपराह्न आउने भएका छन् । बेलायतमा मन्त्रिस्तरको पद सम्हालेका उनी उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिन्छन् । गैरराजनीतिकस्तरका बेलायतका उच्च कूटनीतिक व्यक्तित्व उनलाई विश्वका विकसित मुलुकसमेत आफ्नो देशको भ्रमण गराउन लालायित हुने गरेका छन् । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लर्ड मेयरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । यहाँ रहँदा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि उनले बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि उनको भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बेलायत सरकारको सहयोगमा सञ्चालित विकासका केही परियोजना तथा भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमको उनले अवलोकन गर्नेछन् । रासस

नेपाल लन्डन लर्ड मेयर अफ द सिटी अफ लन्डन डा एन्ड्रयु पार्म

विशेष