News

पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्टरपोलको एशिया क्षेत्रीय सम्मेलन सम्पन्न

पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्टरपोलको एशिया क्षेत्रीय सम्मेलन सम्पन्न
माघ–७ । प्रहरी सङ्गठनको अन्‍तर्राष्ट्रिय संस्था इन्टरपोलको २३औँ एशिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै  काठमाडौंमा सम्पन्न भएको छ । ६ माघदेखि शुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एशिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ । त्यसैगरी मानव बेचबिखन, बाल हिंसाजस्ता क्षेत्रमा संयुक्त कारबाही अगाडि बढाउने तथा एशियाली क्षेत्रमा सूचना सङ्कलन र आदानप्रदानलाई अझ बढी प्रभावकारी बनाउने सहमति भएको छ । आतङ्ककारी सङ्गठनको सम्बन्धमा विवरण सङ्कलन, आदानप्रदान, आतङ्ककारीको सम्पत्ति विवरण सङ्कलनलगायतका विषयमा सहकार्य गर्दै प्रहरीलाई बलियो बनाउने, एशियाली क्षेत्रमा विद्युतीय अपराधविरुद्ध रणनीति तय गर्दै प्रहरीको सूचना तथा प्राविधिक ज्ञानको दायरा बढाउने पनि बैठकमा सहमति भएको छ । अन्तरदेशीय वातावरणीय अपराध नियन्त्रण गर्ने तथा त्यसका लागि अन्तरक्रिया, विवरण सङ्कलन र आदानप्रदान गर्ने पनि घोषणापत्रमा उल्लेख छ । सम्मेलनमा  मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल भएको थियो । अर्को सम्मेलन दुई वर्षपछि इरानमा हुने भएको छ । सम्मेलनको समापन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्मेलन उपलब्धिमूलक भएको भन्दै अपराध नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताए । कानून कार्यान्वयनका लागि एशियाली मुलुकबीच सहकार्य आवश्यक रहेकामा जोड दिँदै सम्मेलनले भूमिका खेलेको उनको भनाइ छ । इन्टरपोलका महासचिव जुर्गेन स्टकले सम्मेलन सफलताको प्रतिविम्ब निकट भविष्यमै देखिन थाल्ने विश्वास व्यक्त गरे भने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीका लागि सूचना आदानप्रदान र छलफलका लागि इन्टरपोलजस्तो निकाय अर्को नभएको टिप्पणी गरेका थिए  । सम्मेलनमा ३३ राष्ट्रका १३६ जना कानुन कार्यान्वयन गर्ने सुरक्षा अधिकारीको प्रतिनिधित्व रहेको थियो । यसअघि १०औँ क्षेत्रीय सम्मेलन आयोजना गरेको नेपालले २७ वर्षपछि अहिले २३औँ सम्मेलन गरेको हो । रासस  

इन्टरपोल एशिया क्षेत्रीय सम्मेलन घोषणापत्र

विशेष