अमेरिका जस्तो मुलुकमा बाइबल छोएर राष्ट्रपतिले सपथ लिन्छन्, नेपालमा...
माघ–९ । उम्मेदवारी दिंँदैदेखि निकै चर्चामा रहेका डोनाल्ड जोन ट्रम्पले ४५ औं राष्ट्रपतिको रुपमा शुक्रबार शपथग्रहण गरेका छन् । उनले शुक्रबारबाट विश्व शक्ति अमेरिकाको नेतृत्व सम्हाल्ने छन् । उनी आफ्नो बोलि र ब्यवहारको कारण निकै चर्चित बनेका थिए ।
ट्रम्पलाई प्रधानन्यायधीश जोन रबर्टले शपथग्रहण गराएका थिए । ट्रम्पले दुईवटा बाइबल छोएर शपथ खाएका थिए । एउटा बाइबल उनले बाल्यकालदेखि आफूसँगै राखेको र अर्को अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनले शपथ लिँदा छोएको बाइबललाई ट्रम्पले छोएका थिए । प्रत्येक चार बर्षमा निर्वाचन हुने अमेरिकाका नयाँ राष्ट्रपतिलाई त्यहाँका प्रधान न्यायाधीशले संविधानको प्रावधान अनुसार विहानको ११ः३० (नेपाली समय अनुसार राती १० बजेर १५ मिनेट जाँदा) शपथग्रहण गराएका हुन् ।
राष्ट्रपतिको शपथ अंगे्रजी ३५ शब्दको हुने गर्छ । ट्रम्पले पनि त्यही ३५ शब्द पढेर शपथ लिएका थिए । ‘म सुनिश्चितता गर्छु कि म अमेरिकी राष्ट्रपतिको कार्यभार इमानदारीपूर्वक सम्पन्न गर्नेछु र मेरो क्षमताले भ्याएसम्म अमेरिकाको संविधानको बचाउ, रक्षा र संरक्षण गर्नेछु,’ ट्रम्पले शपथमा भने ।
शपथसँगै रियल स्टेट मुगल तथा पूर्व रियालिटी सो स्टार ट्रम्प राज्य प्रमुख, कमान्डर इन चिफ र सरकारको प्रमुख कार्यकारी बनेका छन् । तथापि ओबामा प्रशासनले जारी गरेको कार्यकारी आदेश उनले खारेज गर्न सक्ने आंकलन अन्तराष्ट्रिय संचार माध्यमहरुले गरिरहेका छन् ।