
माघ–९ । जापानको टोकियोस्थित अष्ट्रेलियन दूतावासमा नेपाली मुलकी नताशा हमाल प्रथम सचिव बनेकी छिन् । अष्ट्रेलियाको केन्द्रीय राजधानी क्यानवेराको उच्च सरकारी सेवामा कार्यरत नेपाली अर्थशास्त्री डा.कृष्ण हमालकी छोरी नताशा अष्ट्रेलियन दूतावासमा प्रथम सचिव बनेकी हुन् ।
उनी पदभार ग्रहण गर्न शनिबार टोकियो प्रस्थान गरेकी छन् । त्यहाँ उनी तीन वर्ष टोकियो बस्नेछिन् । नेपाली सँस्कृति अनुसार हमाल परिवारले टीका लगाइदिएर तथा दही र फलफूल खुवाएर नताशालाई विदाई गरेको छ । उनका पिता डा. कृष्ण हमालले भावकुता र खुशी हुँदै आइतबार आफ्नो फेसबुक वालमा लेखे, ‘दुःखी तर जापानको अष्ट्रेलियन दूतावासमा प्रथम सचिवका रुपमा कुटनीतिक पदभार ग्रहण गर्न जान लागेकी हाम्री छोरीप्रति निकै खुशी । बधाई छोरी तिमीले हामीलाई निकै गौरवान्वित बनायौं । तिमी र ज्वाईंसाबको सुरक्षित यात्रा र सुखद टोकियो बसाईको कामना ।’
नताशाले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्र र बजारशास्त्रमा स्नातक तथा सर्टिफाइड पब्लिक अकाउन्टेन्ट (सीपीए) अध्ययन पूरा गरेकी छन् । नताशालाई नेपाली सँस्कृति र कलाप्रति गहिरो प्रेम छ । त्यसको उदाहरण क्यानवेरामा हुने नेपाली जमघटहरुमा नेपाली गीत संगीतमा उनले गर्ने राम्रो नृत्य हो । उनी आठ वर्ष अघि यहाँको अर्थमन्त्रालयको वित्त बिभागबाट अष्ट्रेलियाको सरकारी सेवामा प्रवेश गरेकी हुन् । त्यसपछि उनी अष्ट्रेलियन एडको सेवामा हुँदा सर्विया, भानुवाटु, पपुवा न्युगिनी, सिंगापुर लगायतका देशमा पुगेर अष्ट्रेलियन सरकारको प्रतिनिधिका रुपमा सेवा गरिन् ।
अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले केही महिना अघि कुटनीतिक सेवाका लागि लिएको परीक्षामा सहभागी चार दर्जन अष्ट्रेलियन कर्मचारीहरुमध्ये चुनिने ६ जनामा नेपाली मुलकी एकमात्र कर्मचारी नताशा थिइन् ।
नताशाले कुटनीतिक सेवामा राम्रो प्रगति गर्दै गएमा उनी भविष्यमा नेपाली मूलको पहिलो अष्ट्रेलियन राजदूत बन्ने लक्ष्ण रहेको छ ।
अस्ट्रेलियान दूतावास
नताशा हमाल
महिला सचिव