अमेरिकामा नेपाली दूतावासकी कर्मचारी ट्रम्पविरोधी जुलुसमा
माघ १० । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको प्रदर्शनीमा अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीकी स्वकीय सचिव आकृति खनाल सहभागी भएकी छिन् । उनको यो सहभागिताले कूटनीतिक मर्यादाको ठाडो उलंघन भएको छ ।
अमेरिकाको कानुन अनुसार बिदेशी नियोगमा काम गर्ने कर्मचारीले सरकारविरोधी प्रदर्शनीमा सहभागि हुन पाउँदैनन् । तर, खनालले त्यस मर्यादाको ठाडो उलंघन गर्दै ‘म अमेरिकन नागरिक हुँ र अमेरिकन भोटर भएका कारण महिला अधिकारका लागि सहभागिता जनाउँन पाउँछु’ भन्ने ठाडो उत्तर दिएकी छन् ।
डोनाल्ड ट्रम्प व्यक्तिगत रूपमा कसैलाई मन पर्नु नपर्नु एउटा कुरा भए पनि अमेरिकाका लागि नेपाली राजदूतकै स्वकीय सचिवले यसो गर्नु कूटनैतिक मर्यादा सुहाउँदो काम नभएको काठमाडौंस्थित परराष्ट्र मन्त्रालयका एक उच्च कर्मचारीले बताए ।
यदि आकृति अमेरिकी हुन् भने अमेरिकामा हजारौं नेपाली युवाहरू योग्य हुँदाहुँदै उनीहरूलाई अवसर नदिएर किन अमेरिकी नागरिक खनाललाई अवसर दिइयो ? एनआरएन अमेरिकाका एक अधिकारीले प्रश्न उठाए । उनले भने, राजदूत महोदयले यो घटनाका बारेमा प्रतिक्रिया दिनुपर्छ ।