गाम्बियाका पूर्वराष्ट्रपति जामेहले मुलुक छाडेसँगै १ करोड डलरभन्दा बढी रकम गायब
माघ – १० । अफ्रिकीमुलुक गाम्बियाको राज्यकोषबाट १ करोड डलरभन्दा बढी रकम गायब भएको सार्वजनिक भएको छ । पूर्वराष्ट्रपति याह्मा जामेहले मुलुक छाडेसँगै ठूलो रकम गायब भएको घटना बाहिर आएको हो ।
२२ वर्ष शासन गरेका जामेह शनिबार राति निर्वासनका लागि गिनी उडेका थिए । नयाँ राष्ट्रपति अदामा बरोका सल्लाहकार मे अहमद फातीले जामेहले पछिल्लो दुई सातामामात्रै राज्यकोषबाट १ करोड ११ लाख अमेरिकी डलर गायब पारेको दाबी गरेका छन् । गाम्बियाको राज्यकोष लगभग खाली रहेको र त्यसले आर्थिक संकट ल्याएको उनको भनाइ छ ।
तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । जामेहले सुविधायुक्त र आरामदायी सामानका लागि जथाभावी खर्च गरेको आरोपसमेत लगाइएको छ । शनिबार राति मुलुक छोड्दै गर्दा जामेहले आरामदायी कार र अन्य सामानहरु मालबाहक विमानमा हालेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
गत डिसेम्बरमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजित भएका जामेह क्षेत्रीय नेताहरुको चर्को दबाबपछि हार स्वीकार गरी मुलुक छाड्न बाध्य भएका थिए । राष्ट्रपति बरो भने सेनेगलमै छन् र उनी कहिले स्वदेश फर्कन्छन् भन्ने स्पस्ट भइसकेको छैन । - एजेन्सी
गाम्बिया
याह्मा जामेह