विदेश

ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुलाई अमेरिका बोलाए

ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहुलाई अमेरिका बोलाए
माघ - १० । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटवार्ताका लागि अमेरिका बोलाएका छन् । आइतबार भएको टेलिफोन वार्तामा राष्ट्रपति ट्रम्पले आउँदो फेब्रुअरीको सुरुमै ह्वाइट हाउस भ्रमण गर्न नेतान्याहुलाई निमन्त्रणा दिएका हुन् ।
ट्रम्प र नेतान्याहुबीच नजिकबाट लगातार संवाद गरिरहने समझदारी पनि भएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । इरानलगायतका क्षेत्रीय र साझा चासोका विषयमा समान धारणा बनाउँदै सहकार्यका साथ अगाडि बढ्नेबारेमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा आगामी फेब्रुअरीको सुरुमै ह्वाइट हाउसमा भेटवार्ताका लागि ट्रम्पले नेतान्याहुलाई आमन्त्रण गरेको पनि लेखिएको छ । नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि नेतान्याहुले राष्ट्रपति ट्रम्पसँग नजिक रहेर काम गर्ने चाहना व्यक्त गरेको उल्लेख गरिएको छ । राष्ट्रपति ट्रम्पले इजरायलले अहिले खेलिरहेको भूमिकाको दह्रो समर्थन गर्दै आफ्नो तर्फबाट गर्नसक्ने सहयोग गर्ने आश्वासन दिएका छन् ।

डोनाल्ड ट्रम्प बेन्जामिन नेतान्याहु

विशेष