News

त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन विश्वव्यापी बोलपत्र आह्वान

त्रिशूली थ्री ‘बी’ अगाडि बढाउन विश्वव्यापी बोलपत्र आह्वान
माघ - १४ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजना अगाडि बढाउन शुक्रबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । कुल ३७ मेगावाट क्षमताको सो आयोजना ‘क्यासकेड’ परियोजनाकारुपमा लिइएको छ । आयोजनाको निर्माण अघि बढाउन कम्पनीले सूचनामार्फत् सीमितरुपमा विश्वव्यापी बोलपत्र आह्वान गरेको आयोजना प्रमुख मोहन गौतमले जानकारी दिए । आयोजनाले बोलपत्र पेस गर्ने अन्तिम मिति आगामी वैशाख १९ गते मंगलबारसम्मका लागि तोकिएको छ । प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो । आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट कन्स्ट्रक्सन (इपीसी) ढाँचामा अगाडि बढाउन लागिएको परियोजना हो । बोलपत्रमा भाग लिन आयोजनाले विभिन्न सात अन्तर्राष्ट्रिय कम्पनीलाई छनोट गरेको छ । छनोट भएका कम्पनीलेमात्रै बोलपत्रमा भाग लिन पाउनेछन् । पूर्वयोग्यता परीक्षणमा छनोट भएका सात कम्पनीमध्ये ६ ओटा चिनियाँ र एक भारतीय कम्पनी रहेका छन् । बोलपत्रको आवश्यक प्रक्रिया सम्पन्न गरेर आगामी मंसिरबाट निर्माण सुरु गर्ने सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३०, आयोजना प्रभावित रसुवा, नुवाकोट जिविस, गाविस तथा रसुवा र नुवाकोटका सामुदायिक संस्थाले पाँचरपाँच, आयोजना प्रभावित १०, सर्वसाधारणलाई १५ र प्राधिकरण र टेलिकमका कर्मचारीलाई पाँच प्रतिशत सेयर दिने गरी लगानी संरचना तय गरिएको छ । नबिल बैंकको नेतृत्वमा, नेपाल बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, नागरिक लगानी कोषले लगानी गर्ने विषयमा छलफल अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजना आर्थिकरुपमा आकर्षक भएको गौतमले बताए । उनकाअनुसार आयोजनाको प्रतिफल २२ प्रतिशत हुनेछ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको सम्भाव्यता अध्ययनले देखाएको छ । प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनाबाट निस्कने पानी ३.७ किलोमिटर लामो सुरुङबाट नुवाकोटको बेत्रावतीनजिक सिरुवापानीस्थित विद्युत्गृहमा खसालिने छ । आयोजनाको सामान्य बाँधमात्रै निर्माण गरे हुने भएकाले लागत अन्य आयोजनाकोभन्दा कमपर्ने बताइएको छ ।

त्रिशूली जलविद्युत् कम्पनी नेपाल विद्युत् प्राधिकरण

विशेष