News

हेटौंडा–कुलेखानी–स्यूचाटार प्रसारणलाइन सन्चालनमा

हेटौंडा–कुलेखानी–स्यूचाटार प्रसारणलाइन सन्चालनमा
माघ - १५ । लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौंडा–कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबार (आज)देखि सन्चालनमा आएको छ । भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउने महत्वपूर्ण प्रसारणलाइनकोरुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खन्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो । मातातीर्थबाट स्यूचाटार जोड्ने प्रसारणलाइनको खन्डमा पर्ने घर तथा आवास क्षेत्रमा रोकिएको कामसमेत सम्पन्न भएको आयोजना प्रमुख केदार सिलवालले राससलाई जानकारी दिए । उक्त प्रसारणलाइनबाट काठमाडौंमा बढी भएको बिजुली हेटौंडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ । राजधानीको वितरण प्रणालीमा पनि थप सुधार गर्ने हो भने दुईओटा महत्वपूर्ण प्रसारणलाइनले राजधानी जोडिएपछि त्यसले दिने सेवासमेत सहज हुने विश्वास लिइएको छ । केही दिन पहिलेमात्रै ढल्केबर–खिम्ती प्रसारणलाइनबाटसमेत विद्युत् प्रवाह भइसकेको छ । हेटौंडा–मातातीर्थ–स्यूचाटार प्रसारणलाइन पनि सन्चालनमा आएपछि काठमाडौंमा विद्युत् आयात गर्न र काठमाडौंबाट बाहिर लैजानलाईसमेत सहज भएको छ । प्राधिकरणले १३२ केभी प्रसारणलाइन क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरेपछि भारतबाट ढल्केबर–हेटौंडा हुँदै राजधानी भित्रिएको विद्युत् वितरणमा सहज भएको हो । उक्त प्रसारणलाइनबाट करिब २०० सय मेगावट बिजुली आयात तथा निर्यात दुबै गर्न सकिने आयोजना प्रमुख सिलवालले जानकारी दिए । विसं २०६८ बाट सुरु भएको सो प्रसारणलाइन मुनिपर्ने जग्गाधनीले मुआब्जा एवं क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए ।विसं २०४३ मा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँबायाँ ९–९ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो । मकवानपुरको चौकीटोल, काठमाडौंको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दैआएको थियो । काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारणलाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो । प्रसारणलाइन निर्माणका लागिमात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको उनले जानकारी दिए । भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन सो प्रसारणलाइन सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । प्रसारणलाइनको दायाँबायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौं उपत्यकामा जारी विद्युत्भार कटौतीमुक्त अभियानमा सो प्रसारणलाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे । मातातीर्थदेखि स्यूचाटारसम्मको खन्डमा पर्ने घर भत्काएर प्रसारणलाइन सन्चालनमा ल्याइएको हो । सो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मातातीर्थ–भक्तपुर प्रसारणलाइनको काम अगाडि बढाउने प्राधिकरणको योजना छ ।
रमेश लम्साल 

हेटौंडा–कुलेखानी–स्यूचाटार

विशेष