News

हृदयघात भएको एक वर्षपछि सार्वजनिक कार्यक्रममा नेता नरहरि आचार्य

हृदयघात भएको एक वर्षपछि सार्वजनिक कार्यक्रममा नेता नरहरि आचार्य
माघ - १५ । नेपाली कांग्रेसका नेता नरहरि आचार्य एक वर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । गत वर्ष तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुगेका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो । त्यसपछि उनी कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । शनिबार सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको २१औं वार्षिकोत्सवमा उनी सहयोगीका साथमा सहभागी भएका हुन् । सो अवसरमा उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तक र नेपाली जनतालाई औपचारिकरुपमा सद्भाव र मायाका लागि आभार पनि व्यक्त गरे । नेता आचार्य गंगालालको सन्चालक समितिको सदस्य पनि हुन् । आफ्नो स्वास्थ्यलाभमा गंगालालले खेलेको महत्वपूर्ण भूमिकाका कारण यहीँबाट सार्वजनिक कार्यक्रममा सहभागी भएको उनले बताए । अझैपनि पूर्णरुपमा निको भइ नसकेका नेता आचार्यले आफूलाई जीवनदान दिने गंगालालको उपचार सेवाप्रति कृतज्ञ भएको भन्दै अस्पतालले संख्यात्मक वृद्विलाईमात्र सफलता नठानेर बिरामी र उसका आफन्तलाई सन्तुष्ट बनाउन सकेमामात्र सफल हुने बताए । मुटुरोगको उपचारमा गंगालालको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले गुणस्तरीय र बिरामीमैत्री सेवा दिन स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।

Nrahari Acharya

विशेष