शरणार्थीविरुद्ध ट्रम्पको कठोर निर्णय, भुटानी पनि प्रभावित
माघ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ सय २० दिनसम्म विश्वका सबै शरणार्थीलाई अमेरिका प्रवेश निषेध गर्ने कार्यकारी आदेश जारी गरेपछि नेपालका शरणार्थी शिविरमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अमेरिका पुनर्बास कार्यक्रम पनि प्रभावित हुने भएको छ ।
काठमाडौंस्थित आइओएमका एक अधिकारीले अमेरिकी दूताबासका एक कर्मचारीलाइ उदृत गर्दै भने, अबको १ सय २० दिन भिसाका लागि अन्तर्वार्ता नहुने जानकारी काठमाडौंस्थित अमेरिकी दूताबासले दिएको छ । उनले अगाडि भने, अहिलेका लागि यति मात्र सूचना छ, बाँकी अमेरिकी विदेश विभाग र आन्तरिक सुरक्षा विभागबाट आउने लिखित निर्देशनपछि मात्र बताउन सकिने पनि अमेरिकी दूताबासका कर्मचारीले बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक कार्यकारी आदेश जारी गर्दै अमेरिकी शरणार्थी कार्यक्रमलाई १ सय २० दिनसम्म निलम्बित गरेका थिए । उनले एकलाख १० हजार शरणार्थी अमेरिका ल्याउने ओबामा प्रशासनको योजनालाई पनि साँघुरो बनाउँदै ५५ हजार मात्र ल्याउने सीमा तय गरे । उनको कार्यकारी आदेशमा सिरियालाई अनिश्चितकालसम्मका लागि अन्य ६ मुस्लिम मुलुकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाए । यसरी रोक लाग्ने मुलुकहरूमा इराक, सिरीया, इरान, सुडान, लिबिया, सोमालिया र यमन रहेका छन् ।