News

इतिहासकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माइतीघरमा फहराइयो

इतिहासकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माइतीघरमा फहराइयो

माघ–१६ । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आर्इतबार माइतीघर मण्डलामा फहराइएको छ । सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् । कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए । केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उनले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले जस्तोसुकै परिस्थिति आए पनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राखे । “हामी दुःख व्यहोर्न तयार छौँ । तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौँ”, उनले भने, “सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गछौँ ।” उनले देशको स्वाभिमान कसैका विरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको उल्लेख गरे । अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउन आग्रह गरे । उनले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने बताए । “निर्वाचन नगर्ने प्रयास भइरहेको छ”, उनले भने, “तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ । निर्वाचन गराएर छाड्छौँ ।” कार्यक्रममा राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेको बताए । फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ । राष्ट्रियतामा योगदान पुर्‍याएबापत उक्त कार्यक्रममा खेलाडी मिरा राई र कलाकार मोहनदास श्रेष्ठलगायत एक दर्जनलाई सम्मान गरिएको थियो । रासस

माइतीघर राष्ट्रिय झण्डा

विशेष