सिरियामा हुन थाल्यो युवाको अभाव, ७० प्रतिशत महिला अविवाहित
माघ १७ । विश्वको जनसंख्या झण्डै साढे ७ अर्बको हाराहारीमा पुगिसकेको छ, जसमा महिला र पुरुषको संख्या लगभग बराबर नै छ ।
तर विश्वमा यस्तो मुलुक पनि छ, जहाँ पुरुषको संख्या निकै दयनीय अवस्थामा पुगेको छ । महिलाको अनुपातमा पुरुषको संख्या निकै कम भएकै कारण त्यहाँ कयौं महिलाले विवाह गर्न पाएका छैनन् ।
हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवा मारिएका छन् भने कयौं विदेश पलायन भएका छन् । त्यस्तै केही युवा जेलमा छन, जो विभिन्न आरोपमा सजाय काटिरहेका छन् भने युवाको एउटा हिस्सा सेनामा छ ।
परिणामस्वरुप, सार्वजनिक स्थलमा महिलाको संख्या निकै बढी देखिन्छ । सिरियामा अविवाहित र एकल महिलाको संख्यामा तीव्र बृद्धि भइरहेको छ ।
पछिल्लो एक अध्ययनले त्यहाँ ७० प्रतिशत महिला अविवाहित रहेको देखाएको छ । समाजमा शेष रहेका केही युवामा पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि प्रतिकुलता सिर्जना भएको छ ।अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसारमा कयौं सिरियाली महिलाले आफूभन्दा निकै पाको उमेरका पुरुषको साथ स्वीकार्न थालेका छन् । पुरुष अभावका कारण वहुविवाहको प्रचलनसमेत बढ्न थालेको छ ।
२३ वर्षीया शिक्षिका याराका अनुसार उनकै हाराहारीमा प्रत्येक चार महिला बराबर एक पुरुष रहेका छन् । उनी भन्छिन, ‘यस्तै हो भने अब चाँडै नै एक पुरुषको चार पत्नी हुनेछन् ।’
Siriya