देश News

नेपाली सेनाले ४ हजार स्वयमसेवक तयार गर्दै

नेपाली सेनाले ४ हजार स्वयमसेवक तयार गर्दै
माघ - १७ । त्रिभुवन माध्यामिक विद्यालय जाजरकोट खलंगामा ८ कक्षामा अध्ययनरत छात्रा भावना गिरी अध्ययनका साथै नेपाली सेनाले दिइरहेको तालिम लिइरहेकी छन् । दिनभर विद्यालयमा पढ्ने उनी बेलुकाको समयमा नेपाली सेनाको राष्ट्रिय सेवा दलले दिइरहेको स्वयमसेवी तालिम लिइरहेकी छन् ।
[caption id="attachment_53523" align="alignnone" width="960"] तस्बिरः दीपबहादुर घर्ती[/caption]
उनी मात्र होइन यस विद्यालयका १८ छात्र र १८ छात्रा गरी ३६ जना छात्रछात्राले यो तालिम लिइरहेका छन् । शारीरिक व्यायमका साथै अनुशासन, ईमान्दारीता, बफादारिता, राष्ट्रियताको भावना जागृत गर्ने शिक्षा, विपद् व्यवस्थापनलगायतका विषयमा युवा स्वयमसेवी तयार गर्ने उद्देश्यले यस वर्ष मात्र नेपाली सेनाले ६३ जिल्लाका ४ हजार स्कुले विद्यार्थीलाई सय दिने तालिम दिइरहेको छ । उनले तालिम एकदमै जीवनोपयोगी र व्यवहारिक भएको बताइन् । उनी भन्छिन्–‘तालिमबाट देशको लागि केही गरौँ भन्ने भावना जागेको छ । पढाइ सकेर नेपाली सेना भएर देश र जनताको सेवा गर्छु ।’ ७९ दिने कोर्ष सकेर ९ माघदेखि बाँकेको कौशिलानगरमा हुने २१ दिने विशेष तालिम लिन नेपालगञ्ज प्रस्थान गरेकी छन् । जिल्लामै हुने संस्थागत तालिममा मार्चपास, ड्रिल, खुकुरी ड्रिल, मास पिटि, डान्स, एरोविक्स म्युजिक डान्स, फिल्ड सिग्नल लगायतका तालिम प्रदान गर्ने गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको राष्ट्रिय स्वयमसेवा दलका तालिम प्रशिक्षक तर्कबहादुर गुरुङले हतियार चलाउने बाहेक सेनाले गर्ने सवै किसिमका तालिमहरु प्रदान गर्ने गरिएको बताए । ‘शारीरिक ब्यायमका साथै अनुसाशन, नागरिकका कर्तव्य, स्वयमसेवी भावनाको विकास लगायतका वौद्धिक क्षमताको विकास हुने खालका कुराहरु पनि सिकाउँछौँ’ – उनले भने । केही दिनपछि बाँकेको कौशिलानगर, नवलपरासीको हात्तिखोर र इटहरीको एनसिलानगरमा हुने २१ दिनको एडभान्स तालिममा विभिन्न खेलकुद लगायतका विधामा अन्र्तरजिल्लागत रुपमा प्रतिस्पर्धा गराइने कार्यक्रम रहेको छ । देशभरबाट उत्कृष्ट हुने ४० बढी युवायुवतीहरुलाई युथ एक्सचेन्ज कार्यक्रममा भागलिनका लागि श्रीलंका, भारत, बंगलादेश लगायतका देशमा पठाइने गरेको राष्ट्रिय सेवा दलले जनाएको छ । बेलायती सेनाको यस्तो किसिमको अभ्यासबाट प्रभावित भएर नेपाली सेनाले २०२२ सालबाट यसरी स्वयमसेवक तयार पादै आएको छ । हालसम्म २० हजार बढी विद्यार्थीले यो तालिम लिइसकेका छन् । ‘गतबर्ष नेपालमा गएको महाभूकम्पमा समेत तालिम लिएका स्वयमसेवीहरुलाई परिचालन गरेका थियौँ ।’ तालिम संयोजक गुरुङले भने—‘तालिम लिएका युवायुवतीले सेनामा प्रवेश गर्ने इच्छा गरे भने विशेष ग्रहयता हुन्छ ।’ देशलाई आवश्यक परेको बेला स्वयमसेवकको रुपमा परिचालन गर्न र विद्यालय तहदेखि नै स्वयमसेवी भावनाको जागृती गराउन तालिम फलदायी हुने संयोजक गुरुङले बताए ।
दीपबहादुर घर्ती / जाजरकोट

Nepali Sena

विशेष