भियतनाममा भीषण वर्षा, बीसको मृत्यु कैयौँ बेपत्ता
हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन् । भीषण वर्षाका कारण बाँधहरु भत्कीएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको समाचारमा जनाइएको छ ।
प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले वर्षाले गर्दा हजारौँको संख्यामा पंक्षी पनि मरेको बुधबार जानकारी दिएको छ । मृत्यु भएकामध्ये आठ जना मध्य घेआन, पाँच जना उत्तरी सोन ला, चार जना उत्तरी होआ बिन्ह र तीन जना मध्य थान्ह होआ प्रान्तका रहेका छन् ।
त्यसैगरी हराउनेमा थान्ह होआ, सोन ला, होआ बिन्ह, मध्य क्वाङ त्रि प्रान्त र उत्तरी येन बाइ प्रान्तका रहेको जनाइएको छ । गत मङ्गलबार र बुधबार लामो समयसम्म भएको भीषण वर्षापछि आएको बाढी पहिरोले थान्ह होआ र होआ बिन्ह प्रान्तमा रहेका जलविद्युत योजना पनि क्षतविक्षत भएका छन् ।
heavy rainfall