सुटर पक्राउ बारे झुठ बोले गृहमन्त्री शर्माले
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यापछि ३ हतियारसहित पक्राउ परेको दावी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नहरुलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए । अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ बजेर ४५ मिनेटमा मध्येबानेश्वर खरीबोटमा सुटरले गाडीभित्रै गोली हानेर हत्या गरेका थिए । घटनाको करिब एक घन्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउन्ड गोलीसहित तीनजना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो ।
छिरिङ तामाङ, सञ्जय तामाङ, दिलिप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दावी प्रहरीको थियो । गृहमन्त्रीको दावीको आधार पनि घटना भएको समय र प्रहरीले दावी गरेको पक्राउको समय नै थियो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले महाशाखा र परिसरको टोलीले सोमबार हतियारसहित तीन जना पक्राउको पुष्टि गरे पनि यतिक समय बताउन चाहेनन् । पक्राउ समयबारे जिज्ञासा राख्दा उनले भने ‘गौचन हत्याको आसपास नै हो । समय यकिन भएन । ’
नागरिक दैनिकबाट