विदेश

यो हो ट्रम्प चढ्ने गाडी, यस्ता छन् विशेषता

यो हो ट्रम्प चढ्ने गाडी, यस्ता छन् विशेषता

राष्ट्रपति डोनाल्ड ट्रम्पले चढ्ने गाडी जनरल मोटर्स कम्पनीको उत्पादन हो । यो अमेरिकी कम्पनी हो । विश्वका प्रतिष्ठित ब्रान्डका गाडी यो कम्पनीले उत्पादन गर्ने गर्छ । ट्रम्प जनरल मोटर्सको सबैभन्दा प्रतिष्ठित ब्रान्ड क्याडिलाकको ‘क्याडिलाक वान’ चढ्छन् । यो गाडी ‘द बिस्ट’ को नामले बढी चर्चित छ । १.५ मिलियन डलर पर्ने यो गाडी अमेरिकी राष्ट्रपतिका लागि मात्रै भनेर ‘कस्टोमाइज’ गरी बनाइएको हो । सर्वसाधारणले यो गाडी किन्न पाउँदैनन् । सन् २००९ मा पूर्वराष्ट्रपति बाराक ओबामाका लागि बनाइएको क्याडिलाक वानभन्दा अहिले ट्रम्पले चढ्ने गाडी केही सुधार गरेर बनाइएको छ । जनरल मोटर्सले अहिले १५ मिलियन डलर खर्चेर यसको स्तरोन्नतिका लागि अनुसन्धान गरिरहेको छ ।

‘क्याडिलाक वान’मा अत्याधुनिक हतियारदेखि आपत्कालीन परिस्थितिका लागि राष्ट्रपतिको समूहको रगत पनि राखिएको हुन्छ । हरेक राष्ट्रपतिको कार्यकालमा एउटै मोडेलका १२ वटा ‘बिस्ट’ बनाइन्छ । सुरक्षा खतरा उच्च हुँदा एकपटकमा दुईदेखि चारवटासम्म सँगै गुडाइन्छ । एउटामा राष्ट्रपति हुन्छन् भने अरूमा आक्रमणकारीलाई झुक्याउन राष्ट्रपतिजस्तै देखिने बहुरूपियाहरू हुन्छन् ।

संसारकै सबैभन्दा सुरक्षित गाडी मानिने क्याडिलाक वानको ढोका सैनिक ट्यांकमा प्रयोग गरिने स्तरको छ । यो सामान्यभन्दा दोब्बर बाक्लो स्टिल, आल्मुनियम, टाइटानियम र सेरामिकको मिश्रणबाट बनाइन्छ । आठ इन्च बाक्लो यो गाडीको ढोकाको तौल बोइङ ७५७ हवाईजहाजको क्याबिन ढोकाबराबर छ । भारी तौल हुने भएकाले यसको ढोका भित्रबाट खोल्न सकिँदैन । यो गाडीले ठूला बम हमलाहरू सहने मात्रै होइन, बायोलोजिकल र केमिकल हमलाले समेत छुन नसक्ने गरी सिल गरिएको छ ।

यो गाडीमा प्रयोग गरिएका सिसा ०.४४ म्यागनमको बुलेटले पनि केही गर्न नसक्ने छन् । यसमा प्रयोग गरिएका धातु ५ इन्च बाक्ला र सैन्य ग्रेडका छन् । ०.४४ म्यागनमले मात्रै होइन, यो गाडीका सिसा संसारका कुनै पनि बन्दुकका गोलीले तोड्न नसक्ने बताइन्छ । गाडीको तल्लो भागमा प्रयोग भएको धातु भुइँमा बिछ्याइएका ल्यान्डमाइनले पनि केही असर गर्न सक्दैन । गाडीको इन्धन ट्यांकीसमेत विस्फोट प्रतिरोधात्मक छ । इन्धनट्यांकीमा एउटा तरल पदार्थ हुन्छ । गाडीमा बम या गोली लागेर ट्यांकी प्वाल प-यो भने पनि फिँजजस्तो पदार्थ निस्केर प्वाल तुरुन्त टालिन्छ ।

रासायनिक आक्रमणमा परी श्वास फेर्न नमिल्ने अवस्था आए भित्रैबाट निकाल्न मिल्ने गरी गाडीको डिक्कीमा अक्सिजन सिलिन्डर राखिएको छ । त्यहाँ आगो निभाउने उपकरण र आगलागीबाट बच्न आवश्यक अन्य सामग्री पनि राखिएको हुन्छ । चालकसिटनजिकको बाहेक यो गाडीमा भएका अन्य कुनै पनि झ्याल खुल्दैनन् । चालकको झ्याल पनि जम्मा ३ इन्च तलसम्म मात्र खुल्छ । यो व्यवस्था गर्नुको कारण हो, आवश्यक पर्दा सँगसँगै हिँडिरहेका ‘सेक्रेट सर्भिस एजेन्ट’ र गाडीचालकबीच कुराकानी हुन सकोस् । गाडीको अगाडिपट्टि नाइटभिजन क्यामेरा जडान गरिएको छ, जसकारण जस्तोसुकै अँध्यारोमा पनि चालकले अगाडि भएको स्क्रिनमा हेर्दै सजिलोसँग गाडी कुदाउन सक्छन् ।

ट्रम्पको गाडीको स्टेरिङ अन्य गाडीको जस्तै सामान्य नै छ, तर ड्यासबोर्डमा भने स्याटलाइट फोन र जिपिएस ट्र्याकर जडान गरिएको छ । ‘इमरजेन्सी मोड’मा नियमित सम्पर्क हुन सक्छ भने गाडी कहाँ छ भनेर ‘सेक्रेट सर्भिस एजेन्सी’को हेडक्वार्टरमा निरन्तर जानकारी भइरहन्छ ।

हावाविना गुड्ने यो गाडीको टायर केभ्लर फाइबरबाट बनाइएको हो । यसका टायरहरू पङ्चर हुने, च्यातिने, छेडिनेलगायत हुँदैन । कुनै विस्फोट गराएर गाडीको टायर धुजाधुजा बनाइयो भने पनि टायरभित्र विशेष किसिमका स्टिल रिम हुन्छन्, जसले गर्दा गाडी विनासमस्या कुदिरहन्छ । कुनै परिस्थितिमा भिड एकत्रित भएर गाडी रोक्ने प्रयास भए परिस्थिति नियन्त्रणमा लिन गाडीको अगाडि अश्रुग्यास प्रहार गर्ने केही थान बन्दुक पनि राखिएको छ । यतिले समस्या समाधान नभए थप बल प्रयोग गर्न गाडीभित्रै केही थान बन्दुक र एउटा सटगनसमेत राखिएको छ ।

राष्ट्रपतिको गाडीको चालक हुन जोसुकैले पाउँदैन । यसका चालक पनि ‘सेक्रेट सर्भिस एजेन्ट’ नै हुन्छन्, जसले अनिवार्य सैनिक तालिम लिएको हुनुपर्छ । आपत्कालीन स्थितिमा जे–टर्न गराएर गाडी भगाउन सक्ने क्षमता भएका चालकले जनरल मोटर्सका इन्जिनियरको प्रत्यक्ष निगरानीमा सैन्य तालिम केन्द्रमा गाडी चलाउन सिकेका हुन्छन् । अमेरिकी राष्ट्रपतिको गाडी चलाउने चालक साधारणतया ‘फास्ट एन्ड फ्युरियस’ फिल्मका नायकले फिल्ममा देखाएका जस्ता सबै स्टन्ट वास्तविकतामा गर्न सक्ने क्षमता भएका हुन्छन् ।

जम्मा सातजना बस्न मिल्ने गरी बनाइएको यो गाडीको पछाडिको भागमा राष्ट्रपतिसहित पाँचजना बस्न मिल्छ । राष्ट्रपति बस्ने ठाउँ भने बुलेट प्रुफ सिसाले घेरिएको एउटा ‘कम्पार्टमेन्ट’ छ । उक्त कम्पार्टमेन्टको सिसा तल–माथि सार्ने स्विच राष्ट्रपतिसँग मात्र हुन्छ । सबै रासायनिक हमलाले समेत केही नहुने गरी सिल गरिएका कारण गाडीका झ्यालढोका वा सिसा कतैबाट पनि बाहिरको आवाज भित्रसम्म पुग्दैन । बाहिर बोलेको भित्र रहेका राष्ट्रपतिले केही पनि सुन्दैनन् । राष्ट्रपतिले बाहिरको आवाज सुन्न चाहेमा त्यहाँ जडान गरिएको स्पिकर प्रयोग गर्न भने सक्छन् । गाडीको तल एउटा माइक राखिएको छ जुन स्पिकरमा जोडिएको छ ।

राष्ट्रपतिको सिटमा एउटा स्याटालाइट फोन पनि जडान गरिएको छ, जसको सीधा लाइन उपराष्ट्रपतिको कार्यालय र पेन्टागनसँग जोडिएको हुन्छ । संवेदनशील समयमा यसबाटै ट्रम्पले आफ्नो कार्यालय र उपराष्ट्रपतिको कार्यालयमा सीधा आदेश दिन सक्छन् ।

गाडीको सुरक्षा गर्न यसको आफ्नै हवाईजहाज पनि छ । सेक्रेट सर्भिस एजेन्सीले सी–१७ ग्लोबमास्टर ट्रान्सपोर्ट एयरक्राफ्टले आकाशबाट यो गाडीमाथि निरन्तर निगरानी गरिरहेको हुन्छ । ट्रम्पको गाडीको पछाडि ‘रोडरनर’ नामले चिनिने अर्को गाडी हुन्छ, जसले आकाशमा उडिरहेको हवाईजहाजसँग निरन्तर सम्पर्क गरिरहन्छ । रोडरनरको छतमा एउटा एन्टेना जडान गरिएको छ र यसमार्फत सैन्य मुख्यालयमा सीधा सम्पर्क हुन्छ । यस्ता क्षमताका कारण ‘द बिस्ट’माथि आक्रमण गर्नु र क्षति पु¥याउनु लगभग असम्भवप्रायः नै छ ।

१८ फिट लम्बाइ र ६ फिट १० इन्च अग्लो यो गाडीमा जम्मा ६.५ लिटर डिजेल मात्र अट्छ । गाडीको तौल अत्यधिक भएका कारण डिजेल इन्जिन राख्नुपरेको हो । यो गाडीको अधिकतम गति केवल ६० किलोमिटर प्रतिघन्टा छ ।

जर्ज डब्लू बुसको पालामा राष्ट्रपतिको सवारी हुँदा १० देखि १२ वटा गाडी प्रयोग हुन्थे भने ओबामा राष्ट्रपति भएपछि ३५ देखि ४० वटासम्म गाडी प्रयोग गरिँदै आएका छन् । जसमध्ये ४–५ वटा मात्रै ‘द बिस्ट’ ब्रान्डका हुन्छन् ।

पूर्वराष्ट्रपति ओबामाको इजरायल भ्रमणका क्रममा एकपटक ‘द बिस्ट’ बिग्रिएको थियो । जेरुसेलमको एक पेट्रोलपम्पमा तेल हाल्दा पेट्रोलपम्पले डिजेलको सट्टा पेट्रोल हाल्दिएका कारण गाडी खराब भएको चर्चा चलेको थियो । तर, बिग्रिनुको खास कारण कतै बताइएन । ओबामा इजरायल आउनुभन्दा दुई घन्टाअघि नै गाडी बिग्रेकाले बीच सडकमा ओबामाले बेइज्जत भोग्नुपरेन । बिग्रेपछि गाडी ग्यारेजमा पु¥याएर अर्को लिमोमा ओबामा कार्यक्रमस्थलसम्म गएका थिए ।

यसबाहेक पनि अमेरिकी राष्ट्रपतिको गाडीमा अन्य धेरै ‘फिचर्स’ रहेको बताइन्छ, तर यसलाई बाहिर ल्याइएको छैन । कारण, कसैले त्यसलाई आधार मानेर आक्रमणका योजना बनाउन नसकोस् । कुनै पनि मोडेलका बिस्टहरू एउटा निश्चित समयभन्दा बढी चलाइँदैन । उक्त समयपछि सबै गाडी गोप्य सैनिक इलाकामा लगेर विस्फोट गराइन्छ वा अन्य कुनै प्रकारले नष्ट गरिन्छ । कसैले पनि पुराना मोडेल हेरेर यसका ‘फिचर्स’ पत्ता लाउन नसकोस् भनेर यसो गरिएको हो । यो गाडी बनाउनेदेखि चलाउने, मर्मत गर्ने र नष्ट गर्ने सबै ‘सेक्रेट सर्भिस एजेन्सी’ र ह्वाइटहाउस सैन्य कार्यालयको प्रत्यक्ष रोहबरमा हुन्छन् ।

नयाँ पत्रिका

विशेष