News

निर्वाचन सफल तुल्याउन पूरापूर सहयोग हुन्छ : प्रम

निर्वाचन सफल तुल्याउन पूरापूर सहयोग हुन्छ : प्रम

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई तोकिएकै मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगबाट सफल बनाउन सरकार र आफ्नो पार्टीका तर्फबाट पूरापूर सहयोग पुर्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउने उद्देश्यले आज राजनीतिक दलका प्रमुख एवम् पदाधिकारीसँग गरेको छलफलमा उनले सो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले भने, “निर्वाचन सफल तुल्याउन सरकार र पार्टीका तर्फबाट पूरापूर सहयोग हुनेछ, तपाईंहरुले स्थानीय तहको उत्कृष्ट निर्वाचन गराएर मुलुकमा धेरै ठूलो ऐतिहासिक उपलब्धि भएको छ ।”

सो अवसरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तुल्याउने सन्दर्भमा संविधान र कानूनले निर्दिष्ट गरेका तथा आयोगले तयार गरेका नियम, कार्यविधि तथा आचारसंहिता आफ्नो दलका तर्फबाट पूर्णरुपमा पालना गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गरिनुपर्छ, राज्यशक्ति देशको सामूहिक सम्पत्ति हो, निर्वाचन घोषणा भइसकेपछि यसको दुरुपयोग हुन हुँदैन, प्रहरी प्रशासनको प्रयोग अनुचित ढंगबाट भएको छ, शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्न आयोगको सबल भूमिका आवश्यक छ ।”

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा निकै अप्ठेरो परिस्थिति हुँदाहुँदै पनि आयोगले इमान्दार र जिम्मेवारका साथ स्थानीय तहको उदाहरणीय निर्वाचन गर्न सफल भएको भनी सराहना गरे । उनले भने, “तोकिएको मितिमा स्वच्छ र स्वतन्त्र तरिकाबाट निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आचारसंहिता पालना गर्न र निर्वाचनलाई सफल तुल्याउन आफ्नो पार्टीका तर्फबाट पूरा सहयोग हुनेछ ।”

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आचारसंहिता सरकारका तर्फबाट बढी उल्लङ्घन हुने गरेको देखिएको बताउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न आयोगलाई सुझाव दिए । राप्रपाका नेता बुद्धिमान तामाङले छिटफुट घटनाबाहेक समग्रमा स्थानीय तहको निर्वाचन निकै राम्रोसँग सम्पन्न भएको बताए ।

नेपाल लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरीले निर्वाचन आचारसंहिता सरकार र ठूला दलसमेत सबैले पालना गर्नुपर्ने बताउँदै आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्नबाट पछि नहट्न आयोगलाई सुझाव दिए । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले प्रमुख राजनीतिक दलले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको बताउँदै यसमा आयोग निरीह जस्तो देखिएको आरोप लगाए ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा जस्तै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पनि शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गराउन राजनीतिक दलका शीर्षनेता तथा कार्यकर्ताको सकारात्मक भूमिकाको अपेक्षा गरिएको बताए । उनले निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा सरकार तथा आफू र आफ्ना पार्टीका कार्यकर्ताबाट समेत निर्वाचन आचारसंहिता पालना गर्न गराउन प्रतिबद्धता जनाउन सबै राजनीतिक दलका शीर्षस्थ नेतृत्वसँग आग्रह गरेका थिए ।

विशेष