News

‘नेपालमा लगानीको उपयुक्त समय’ अाएकाे छ :राष्ट्रपति भण्डारी

‘नेपालमा लगानीको उपयुक्त समय’ अाएकाे छ :राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताइन ।

“संविधान जारी भएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गर्दैछ, त्यसको साझेदार एनआरएनए बन्नुपर्छ”, राष्ट्रपति भण्डारीले भनिन् । नेपालमा पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्ने वातावरण बनेको उनले उल्लेख गरिन ।

नेपालको समृद्धिले मात्र विदेशमा रहेका नेपालीको शिर उचाइमा पुर्याउने बताउँदै राष्ट्रपति भण्डारीले भूकम्प र बाढीपहिरोपछि राहत, उद्धार एवं पुनःनिर्माणमा एनआरएनएले खेलेको भूमिकाको प्रशंसा समेत गरिन् ।

कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालको विकासमा एनआरएनएको विशेष भूमिका हुने अपेक्षा गरेको सुनाए । परराष्ट्रमन्त्री महराले भने,“विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल विकासको ऊर्जा बन्ने विश्वास छ ।” नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एनआरएनएको मागअनुसार नेपालमा लगानीको वातावरण बनाउन माग गरे ।

एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले देश समृद्ध नभए व्यक्तिगत सफलताको अर्थ नरहने भएकाले आफूहरुले राष्ट्र विकासमा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । एनआरएनएका अध्यक्ष शेष घलेले ७७ देशमा ७० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । यही असोज ३१ गतेसम्म चल्ने सम्मेलनमा उपाध्यक्ष भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

विशेष