News

निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह

निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न आग्रह

काठमाडौँ । निर्वाचन आयोगले सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्य थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगर्न नगराउन आग्रह गरेको छ ।

आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सिर्जना गर्न नेपाल सरकार, राजनीतिक दलहरूलगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराउँदै आयोगले तोकिएको मितिमा निर्वाचन गराउन अनुकूल वातावरण सिर्जना गर्नमा सबैको सहयोगको अपेक्षा गरिएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले गरेको निर्णयमा भनिएको छ,–“सरकार हेरफेर वा मन्त्रिमण्डल सदस्यको थपघटलगायतका कारणबाट निर्वाचनको मितिलाई कुनै पनि तवरबाट प्रभावित नगरी नगराई तोकिएकै मितिमा निर्वाचन गर्न गराउन तथा निर्वाचनलाई पूर्णतः स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित र विश्वसनीय बनाउन अनुकूल वातावरण सृजना गर्न आयोगले नेपाल सरकार, राजनीतिक दललगायत सम्बन्धित सरोकारवाला सबैको पुनः ध्यानाकर्षण गराउँछ ।’’

निर्वाचनको समग्र तयारीबारे जानकारी गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका अध्यक्षलगायत शीर्षस्थ नेताहरूले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन गरेका प्रतिबद्धताप्रति आयोगले खुशी प्रकट गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

विशेष