‘सरकारलाई थप मन्त्री किन चाहियो, कुस्ती खेल्न ?' अध्यक्ष केपी ओली
व्यवस्थापिका संसदको अन्तिम बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति तोकिइ प्रक्रिया अगाडि बढिसकेको अवस्थामा सरकार बिस्तार गर्नु गलत भएको बताएका छन् ।
शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारको एकमात्र काम निर्वाचन गराउने हो । निर्वाचन शान्तिपूर्ण स्वतन्त्र, निपक्ष, र धाँधलीरहित रुपमा सम्पन्न गराउनु पर्छ।’ निर्वाचन गर्नका लागि सानो मन्त्रीमण्डल भए पनि हुनेमा सरकार विस्तार गरिएको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई प्रश्न गर्दे भने, ‘सरकारलाई थप मन्त्री किन चाहियो ?, कुस्ती खेल्न त पक्कै होइन होला ।’
मन्त्रीको संख्या धेरै भन्दा प्रधानमन्त्री तात्नुहोला भनेर व्यङ्ग्य गर्दै उनले ७० भन्दा ६ कम मन्त्री बनाउन लागेको बताए । निर्वाचन गराउन प्रधानमन्त्री, अर्थ मन्त्री जस्ता केही मन्त्री भए पुग्ने भन्दै काम नभएका मन्त्री बिना विभागीय मन्त्री बनाउन खोजेकोमा उनले आलोचना गरे ।
मन्त्री थप्न लागेको समाचार पहिले सुन्दा आफूले नपत्याएको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई पनि यो आचार संहिताविपरीत भएको र आफूहरुको असहमति भएको प्रष्ट पारेको बताए ।