प्रधानमन्त्रीकाे ओलीलाई प्रतिप्रश्न : 'संविधानले दिएको अधिकार पनि प्रयोग गर्न नपाउने ?'
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको बताएका छन् ।
शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूले मन्त्रीपरिषद हेरफेर संविधानभित्रै रहेर गरेको बताए ।
प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरीत सरकार विस्तार गरेको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘के प्रधानमन्त्रीले संविधानले दिएको अधिकार पनि प्रयोग गर्न पाउँदैन?’
प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारको हेरफेरले निर्वाचनमा कुनै असर नपुर्याउने बताएको भन्दै गलत प्रचार नर्गन आग्रह समेत गरे ।
राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गर्नु भएको भन्दै देउवाले धन्यवाद दिए । मन्त्रिपरिषद बिस्तारबारे राष्ट्रपतिलाई उचाल्न खोजे पनि त्यो असफल भएको उनले बताए । यस अघि संसदमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्तारबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।