ठूलो परिमाणमा पटका बरामद

राजविराज । तिहार नजिकिँदै जाँदा भारतीय बजारबाट अवैधरुपमा ल्याउँदै गरेको ठूलो परिमाणको पटकासहित अवैध कपडा प्रहरीले सप्तरीको छिन्नमस्ताबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज चेकजाँच गर्ने क्रममा भारतबाट ल्याउँदै गरेको नागिन पटका, ठूलो सानो बुलेट र रकेट बम तथा अवैध पटकाजन्य वस्तु नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए । करिब रु एक लाख ३० हजार मूल्य बराबरको पटका बरामद गरिएको प्रहरीले बताएको छ ।
यस्तै, सप्तरीको वोदेवर्साइन नपा–५, वोदेवर्साइनबाट लत्ताकपडा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याउँदै गरेको ३५ दोसल्ला, ३० लुङ्गी, सेन्डो भेस्ट २६० र गम्छा १६ थान गरी लाखौँ मूल्यको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामान आवश्यक कार्वाहीका लागि कुनौलीस्थित भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
firecrackers