विदेश

मोगादिसु विस्फाेटमा मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

मोगादिसु विस्फाेटमा मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो

मोगादिसु । सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्फाेटमा परी ज्यान गुमाउनेको सङ्ख्या ८५ पुगेको यहाँका स्वास्थ्य अधिकारीले आइतबार जानकारी गराएका छन् । 

अमिन एम्बुलेन्स सेवाका निर्देशक अव्दुलकदिर अव्दिरअहमान अदेमले सिन्ह्वा न्यूज एजेन्सीसँगको टेलिफोन कुराकानीमा विष्फाेटका कारण अहिलेसम्म मृत्युहुनेको सङ्ख्या ८५ पुगेको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै जानकारी गराए । घटनामा गम्भीर घाइतेको सङ्ख्या अझै धेरै रहेकाले मृतक सङ्ख्या अझै केही बढ्नसक्ने उनले बताए । 

विष्फाेटमा करिब २५० जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । पछिल्ला केही महिना यता भएकामध्ये यो सवैभन्दा ठूलो आक्रमण भएको, अदेमले बताए । 

घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विश्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए । 

सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विष्फाेटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । एकै पटक ठूलो सङ्ख्यामा घाइतेहरूको उपचार गर्नु परेकाले स्थानीय अस्पतालमा रगतको अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । 

विष्फाेटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन । 

bomb blast

विशेष