ऐतिहासिक पनौती नगर अब सिसिटिभीको निगरानीमा
धुलिखेल । ऐतिहासिक पनौती नगरको गतिविधि नियाल्न आजबाट सिसिटिभी क्यामेराबाट निगरानी गर्न थालिएको छ ।
काभ्रेपलाञ्चोकको पनौतीस्थित प्रहरी चौकी प्राङ्गणमा पनौती उद्योग वाणिज्य संघको आयोजना र पनौती नगरपालिकाको सहयोगमा सिसिटिभी जडान गरिएको हो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा र पनौती नगरपालिका प्रमुख भीम न्यौपानले संयुक्तरूरुपमा सिसिटिभी क्यामेरा उद्घाटन गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी सिमखडाले यस्ता प्रविधिको प्रयोगले अब पनौती क्षेत्रमा हुने आपराधिक गतिविधि कमी हुने बताए । “रक्षा सीमित व्यक्तिको मात्रै हुन्छ, सुरक्षा व्यापक हुन्छ । त्यसैले टिभीले गरेको रेकर्ड लालमोहर लगाए जत्तिकै हुने भएकाले सिसिटिभीको निगरानीमा हुनुहुन्छ भन्ने सूचना व्यापक बनाउन सकेमा पनि त्यसबाट आपराधिक गतिविधि न्यून हुनेछ । ”
नगरपालिका प्रमुख न्यौपानेले भने, “सुरक्षाको दृष्टिकोणले यो काम सानो प्रयास मात्र भएको हो, पनौतीलाई हाम्रै कार्यकालभित्र विश्व सम्पदा सूचीमा दर्ता गराएरै छाड्छौँ । ”
पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले सिसिटिभी क्यामेराले अब पनौतीको सुरक्षा व्यवस्थामा ठूलो सहयोग पु¥याउने बताए । “मन्दिर नै मन्दिर भएको शहरकारूपमा चिनिएको यहाँका मन्दिरबाट यसअघि टुडाल लगायतका महत्वपूर्ण सामग्री चोरी भएका कारण पनि सिसिटिभी क्यामेरा जडान गरिएको हो ।”
पनौती नगरपालिकाको रू।१५ लाख र पनौती उद्योग वाणिज्य संघको रू सात लाख गरी २२ लाखको लागतमा पनौतीका विभिन्न स्थानमा पाँचवटा क्यामेरा जडान गरिएको छ । उक्त टिभीले पनौतीको नमोबुद्ध जाने सडक, खोपासी सडक, कुशादेवी सडक, बाँसडोल सडक र पनौती बस पार्कको निगरानी हुने पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले बताए ।