News

आजबाट ठमेल क्षेत्र सवारी साधन मुक्त

आजबाट ठमेल क्षेत्र सवारी साधन मुक्त


काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई आजदेखि सवारी साधनमुक्त क्षेत्र बनाइदै छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गर्ने भएका हुन ।

ट्राफिक प्रहरीका अनुसार पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षा लगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई ठमेल प्रवेशमा रोक लगाइएको छ । अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गरिने ट्राफिक प्रहरीले जानकारी दिएको छ । ठमेललाई सवारी साधन मुक्त गराउन ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने बताइएको छ । साथै ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गरिने ठमेल विकास परिषदले जानकारी दिएको छ ।

यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको छ । ठमेलभित्र धेरै धुवाँ निकाल्ने सवारी साधन, हर्न बजाउने सवारी साधन र जथाभावी चलाउने सवारी साधनलाई विशेष निगरानी गरी कडा कारबाही गर्ने पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ । सवारी साधनको कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने प्रहरीको विश्वास छ ।

ठमेलभित्र ट्राफिक व्यवस्थापनमा कडाइ भए स्थानीयवासी र विदेशी पाहुनालाई हिँडडुलमा सहज हुने अपेक्षा गरिएको छ । ठमेल क्षेत्र काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्छन् ।

विशेष