News

सरकारी कार्यालयको विजोग : कोठाभरि पोकैपोका

सरकारी कार्यालयको विजोग : कोठाभरि पोकैपोका

काठमाडौं । सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ। सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन् ।

त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ । देशभरका सरकारी कर्मचारीको व्यक्तिगत विवरण तथा सम्पत्ति विवरण संकलन गरी सुरक्षित राख्ने जिम्मा पाएको निजामती किताब खानामा ती विवरण सुरक्षित छैनन्।०७२ वैशाखको भूकम्पबाट हरिहरभवनस्थित कार्यालयमा राखिएका सम्पत्ति विवरण र सिटरोलका चार सय दराज पुरिए ।

किताब खानाका उपनिर्देशक राजेन्द्रप्रसाद पराजुलीले पुरिएका दराजबाट आर्मी र प्रहरीको सहयोगमा ४० हजार फाइल नयाँ टहरोमा राखिएको बताए । सिटरोलका १५ सय फाइल नष्ट भएकाले एक वर्ष अघिसम्म सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको उनले सुनाए । ‘नष्ट भएका ती फाइललाई पुनः अभिलेखीकरण गर्न मात्रै एक वर्ष लाग्यो’, उनले भने। वर्षैपिच्छे थपिने कागजात व्यवस्थित ढंगले राख्न पछिल्लो समय ठाउँको अभावसमेत कार्यालयले भोगेको छ । भूकम्पपछि अस्थायी कार्यालयका लागि बनेका दुई दर्जन टहरामध्ये १३ वटा त कर्मचारीको सिटरोल र सम्पत्ति विवरणले भरिएका छन् ।

पेन्सन हकवालाको मृत्यु भएपछिका कर्मचारीको विवरणसमेत किताबखानाले धुलाएको छैन। हरेक वर्ष करिब ४ हजार पाँच सय नयाँ कर्मचारी भर्ना हुने र ८७ हजार हजार कर्मचारीले हरेक वर्ष सम्पत्ति विवरण किताबखानामै बुझाउने कारण वर्षैपिच्छे फाइल संख्या वृद्धि भइरहेको छ । ‘यो वर्षदेखि अभिलेख कहाँ राख्ने हामीलाई चिन्ता भइसकेको छ’, किताबखानाका उपनिर्देशक राजेन्द्र पराजुलीले भने ।

कर्मचारीका विवरणका पुरानो फाइल धुलाउन आवश्यक नियम बनिसकेको र प्रत्येक वर्ष नयाँ फाइल थपिँदै जाँदा व्यवस्थापन जटिल बनेको पराजुलीको धारणा छ। सरकारी कागजात धुलाउने नियम २०२७ ले कागजात धुलाउन सकिने व्यवस्था गरेको छ। सरकारी कार्यालयका कागजातमा लेखिएको व्यवहोरा पढ्न, बुझ्न वा त्यसको कुनै उपयोग गर्न नसकिने गरी रद्द गर्ने साथै कागजात डढाउनेसमेत नियममा उल्लेख छ। सम्बन्धित कार्यालय प्रमुखलाई नै त्यस्ता कागजात धुलाउने अधिकार सरकारी कागजात धुलाउने नियम २०२७ ले दिएको छ । तर, धुलाउने कागजातको अभिलेख भने राख्नुपर्ने व्यवस्था छ। नियममा कागजातको प्रकृतिअनुसार एक वर्ष, तीन वर्ष, पाँच वर्ष, १० वर्ष र २० वर्षभित्र धुलाउने भनेर वर्गीकरण गरिएको छ।

प्रविधिमैत्री ऐन नहुँदा समस्या

सरकारी कागजातको अभिलेख राख्न पछिल्लो समय प्रविधिको प्रयोग भए पनि पोका हटाएर कार्यालय चुस्त पार्न सहयोगी भने भएको छैन। कम्प्युटरमा राखिने रेकर्डलाई रेकर्ड नमानिने कारण पनि कागजी फाइललाई नै अभिलेख गर्नुपर्ने बाध्यता सरकारी कार्यालयलाई छ। व्यवस्थापन गर्न सजिलोका लागि कम्प्युटरमा अभिलेख राखिए पनि कागजका फाइल भने पोका पारेर दराजमै थन्क्याउने गरिएको छ ।

निजामती किताबखानाले ०६५ सालयता कम्प्युटरमा रेकर्ड राख्ने गरे पनि फाइल भने कागजका दराजमै राखिएको छ । त्यस्तै, मालपोत कार्यालय डिल्लीबजारले पनि ०७३ फागुनदेखि कागजी अभिलेख कम्प्युटरमा राख्न थालेको छ। तर, प्राविधिक समस्या आइरहने कारण कागजी फाइल नपल्टाईकन काम गर्न गाह्रो परेको अधिकृत निजामती मात्रै होइन, शिक्षक सेवातर्फका शिक्षकको सिटरोलको व्यवस्थापन पनि उस्तै जटिल बनेको छ ।

अन्नपूर्ण

विशेष