विदेश

ट्रम्पप्रति युद्धमा मारिएका अमेरिकी सैनिककी पत्नीको आक्रोस

ट्रम्पप्रति युद्धमा मारिएका अमेरिकी सैनिककी पत्नीको आक्रोस

वासिंटन । युद्धका क्रममा मारिएका एकजना अमेरिकी सैनिककी श्रीमती मेसिया जनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले समवेदना व्यक्त गर्दा उनका श्रीमानको नाम सम्झन नसकेको भन्दै आक्रोस व्यक्त गरेकी छन् ।

राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न टेलिफोन गर्दा आफ्ना मृतक श्रीमान् सैनिकको नाम सम्झन नसकेको भन्दै मेसिया जनसनले दुःख र आक्रोस व्यक्त गरेकी हुन् । नाइजरमा इस्लामिक अतिवादीहरुले यसै महिना गरेको आक्रमणमा उनका श्रीमान् सार्जेन्ट ला डेभिड मारिएका थिए ।

त्यस क्रममा अरु तीन जना अमेरिकी सैनिकको समेत मृत्यु भएको थियो । मृतक सार्जेन्ट ला डेभिडकी श्रीमती मेसिया जनसनले अमेरिकी टेलिभिजन एबीसी न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पको टेलिफोनले आफूलाई झनै रुवाएको बताएकी थिइन् ।

राष्ट्रपतिले आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको थाहा पाउँदा आफूलाई सबैभन्दा धेरै चोट पुगेको उनले बताइन् । उनले आफ्ना श्रीमान देशका लागि लड्न गएको र देशकै लागि ज्यान दिए पनि राष्ट्रपतिले नामसमेत सम्झन नसक्नु दुःखद भएको बताइन् ।

राष्ट्रपति ट्रम्पले मृतककी श्रीमतीलाई फोन गर्दा गैरसंवेदनशील भएको भनेर डेमोक्रयाटिक कंग्रेस वुमन फ्रेडरिका विल्सनले आरोप लगाएकी थिइन् । विपक्षी नेतृको दाबीलाई मृतक सैनिककी श्रीमतीले पुष्टि गरेकी हुन् ।

तर सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले ती महिलासँग सम्मानजनक वातावरणमा कुराकानी भएको बताएका छन् । उनले टेलिफोन वार्ताको शुरुदेखि नै आफूले विना कुनै कठिनाई ती मृतक सैनिकको नाम लिएको दाबी पनि गरेका छन् ।

विपक्षी नेतृको दावीलाई राष्ट्रपतिले ‘कपोकल्पित’ भनेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने मृतक सैनिकका परिवारजनसँग राष्ट्रपतिले गर्ने सम्वाद निजी मामिला भएको जनाएको छ ।

विशेष