विदेश

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

बेरुत । उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको समाचारमा जनाइएको छ । 

मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन् । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । 

उक्त अधिकारवादी संस्थाका अनुगमनकर्ताले मङ्गलबार बिहान सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ । सोमबार साँझपख हवाई सेनाले कारबाही थालेको थियो । कारबाहीका क्रममा २२ जनाको ज्यान गएको बताइएको छ । तर उक्त कारबाही किन गर्नु परेको हो भन्ने बारेमा भने रुसी वा सिरियाली सेनाले केही बताएको छैन ।  

रुसी सेनाले फायलाक अल साम आवद्ध विद्रोहीहरूलाई लक्ष्यगरेर सो कारबाही गरेको विगतमा पनि बताउने गरेको थियो । घटना भएको इडलिब द्वन्द्व प्रभावित क्षेत्रको रूपमा मानिन्छ । सिरियामा जारी गृहयुद्धका कारण गएको कम्तीमा पनि पाँच वर्षदेखि हिंसा भइरहेको छ । यहाँ तीन लाखभन्दा बढी नागरिकले हिंसामा परी ज्यान गुमाएका छन् । 

पछिल्लो समयमा यहाँ आतंककारी समूहहरुको पनि घुसपैठ सुरु भएको छ । जसका कारण सिरियामा हिंसाका नयाँ नयाँ रुप भित्रिएका बताइन्छ । 

विशेष