ओलीका ८७ वर्षीय बाबुले चिना हेर्दै भने, ‘छोराको अझै प्रधानमन्त्री हुने योग छ’
काठमाडौं । देशका प्रधानमन्त्रीसमेत भइसकेका नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीका बाबु कस्ता होलान् ? यो कुरा जान्न धेरैलाई कौतुहलता हुन सक्छ । उखान टुक्कामा र भाषणमा माहिर ओलीका ८७ वर्षीय बाबु मोहनप्रसाद ओली पनि कम्ती विद्वान छैनन् ।
त्यसैले त उनलाई गाउँघरतिर भन्ने गर्छन्, ‘बाबु त यस्तो छ, छोरो किन नहोस् ?’ उनी पनि उखान टुक्का र कविता लेख्नमा माहिर छन् । उनले आठ वर्षकै उमेरमा क ख पढे । दशवर्षमा चण्डी पाठ पढे । १३ वर्षमा चण्डीरुद्री कण्ठस्त भइसकेको थियो । त्यसपछि ज्योतिष पढ्न थालेका उनी पढ्दा अर्को ज्योतिषले पढ्दै गरेको श्लोक पनि कण्ठ हुन्थ्यो ।
एक अन्तर्वार्तामा छोरा केपी ओलीको बाल्यकालबारे बोल्दै उनले भने, ‘पाँच महिनाको हुँदा यसलाई सुताइरहेको ठाउँमा सेतो सर्प आएर बसेछ । सर्पले केही गरेन । सर्प गएपछि गाउँतिरका ठूलाबडाले यो सर्वमान्य हुने भविष्यवाणी गर्न थाले ।’
ओली चार वर्षको हुँदा उनकी आमाको देहान्त भएको थियो । उनका बाबु भन्छन्, ‘यसले कसेले हेपेको देख्न सक्दैनथ्यो । ‘बीएसम्म मैले पढाएँ । त्यसपछि राजनीतिमा लाग्न थाल्यो,’ उनले भने । उनी आफैँले पनि ज्योतिष विज्ञान पढेका छन् । भन्छन्, ‘मैले हेरेको चिनाअनुसार उसको अझै पनि प्रधानमन्त्री हुने लक्षण छ ।’ देशको राजनीतिक अवस्थाबारे बोल्दै उनले प्रचण्ड र ओली मिलेमा देश बन्ने पनि बताए ।