News

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण

विराटनगर । मोरङका विभिन्न ठाउँहरूमा छठ पर्वका वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका छन् । 

जलाशयमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अघ्र्य अर्पण गरेका हुन् । 

यसैबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुग्नुभएको छ । विगत १४ वर्षदेखि उनी आफ्नो घरदेखि सिंग्याहीखोलाको एक किलोमिटरभन्दा बढीको दूरी सो विधि अपनाएर पूरा गर्छन् । 

उनले लगातार १३ वर्षसम्म आफ्नो परिवारको कल्याणका लागि सुतेर दण्डवत गर्दै पुजास्थलसम्म पुगेको र यसपल्ट नगरवासीको कल्याणको लागि गरिएको बताए । 

कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो भने आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरिएको छ र भोलि उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ । 

विराटनगरस्थित सिंग्याही खोला, केशलिया खोला, नहरलगायत विभिन्न जलाशयहरूमा उल्लासमय वातावरणमा छठ पर्व मनाइरहेको देखिन्छ । हजारौंको सङ्ख्यामा पर्व हेर्नेहरूको उपस्थिति रहेको छ । 

chhat Festival

विशेष