भारतले नकिनेपछि अलैंचीको मूल्यमा कमी
काठमाडौं । नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारतले नेपालमा उत्पादन भएको अलैंची गुणस्तरहीन भन्दै किन्न नमानेपछि नेपाली अलैंचीको मूल्य निकै घटेको व्यवसयीहरुले बताएका छन ।
नेपालमा उत्पादित ९९ प्रतिशत अलैंची भारतीय बजारमा निर्यात हुने गरेको छ । अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले किसान र व्यवसायीको हेलचेक्र्याइँले समस्या आएको बताउनुभयो । जस्तोसुकै अलैंची उत्पादन गरे पनि बिक्छ भन्ने मानसिकता किसानको भएकाले पनि मूल्यमा गिरावट आएको नेपालको भनाइ छ ।
नेपालको पूर्वी क्षेत्रमा बढी उत्पादन हुने अलैंचीको मूल्य निकै घटेपछि कृषकहरु चिन्तित भएका छन । गत वर्षसम्म प्रति किलो २ हजार ५ सयमा विक्री भएको अलैंचीको मूल्य यस वर्ष घटेर प्रतिकिलो ६५० मा झरेपछि किसानहरु निकै चिन्तित भएका हुन ।
पूुर्वीका पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, पाँचथर, संखुवासभासहित देशका ४० जिल्लामा अलैंची उत्पादन हुन्छ । यी जिल्लाबाट वार्षिक ५ हजार मेट्रिक टनभन्दा बढी अलैंची विदेश निर्यात हुन्छ ।
अलैंची व्यवसायी महासंघका अनुसार यसको निर्यातबाट वार्षिक ६ अर्ब नेपाल भित्रिने गरेको छ । यसमध्ये ५ अर्ब भन्दा बढी किसानको हातमा पुग्छ ।
आर्थिक वर्ष २०७३–७४ मा ताप्लेजुड जिल्लाबाट ३१ करोड ३७ लाख बराबरको २५० मेट्रिक टन अलैंची निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।