News

घुस लिदैं गरेको अवस्थामा फेला परेका तीन ट्राफिक प्रहरी निलम्बित

घुस लिदैं गरेको अवस्थामा फेला परेका तीन ट्राफिक प्रहरी निलम्बित

काठमाडौं। चालकहरुसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा चुणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बास्तोला छन् । तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् ।

थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखामा सादा पोशाकमा छड्के पठाएका थिए ।

त्यस क्रममा चालकसँग लिएको घुस रकमसहित उनीहरु पक्राउ परेका थिए । महाशाखाले निलम्बन गरी उनीहरुमाथि कारवाही अघि बढाएको छ । यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ । इन्चार्जसहित नागढुंगामा कार्यरत १६ र थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो ।

नयाँ पत्रिका

विशेष