News

अदुवामा रोग लागेपछि किसान चिन्तित

अदुवामा रोग लागेपछि किसान चिन्तित

तेह्रथुम । जिल्लाका किसानले लगाएको अदुवामा गानो कुहिने, गबारो र पात बेरुवालगायतका विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।

खाद्यान्न बाली मासेर लगाएको व्यावसायिक अदुवा खेती रोगले सखाप पारेपछि किसान चिन्तित भएका छन् । जिल्लामा मुख्य नगदेबालीका रुपमा खेती भइरहेको अदुवाको माउ झिकिसकेपछि रोगको संक्रमण देखा परेको हो ।

अदुवामा गानो कुहिने, गबारो र बेरुवाको संक्रमण देखापरेको किसानले बताएका छन् । शुरुमा गानो कुहिने र पछि पहेँलिँदै क्रमशः बोटै मरेर जाने गरेको छ । केही क्षेत्रका किसानले लगाएको अदुवामा भने गबारो र बेरुवाको संक्रमण छ । अदुवाका लागि गानो कुहिने रोग सबैभन्दा बढी हानिकारक मानिन्छ । गानो कुहिने रोगले अदुवाको फल नै सखाप पार्छ ।

फेदाप, आठराई र छथर गाउँपालिकाका किसानले लगाएको अदुवामा रोगको संक्रमण देखिएको छ । साउन र भदौमा अदुवाको माउ झिकेको र माउ झिकिसकेपछि गानो कुहिने रोगको संक्रमण देखापरेको फेदाप गाउँपालिका–१, सिम्लेका किसान तेजनाथ भट्टराईले बताए ।

“अदुवाको बोट हरियो हुँदै जाँदा गानो कुहिने गर्छ, अनि बिस्तारै पहेँलो भएर अदुवाको बोटै मर्छ”, उनले भने ।

खनेर बजारमा पुर्याउने बेलामा अदुवामा रोग लागेपछि किसान मारमा परेका छन् । फेदाप गाउँपालिकाका सबै वडामा अधिकांश किसानले अदुवाको खेती लगाएका छन् । सिम्ले, जलजले, ओयाक्जुङ र इसिवुमा अदुवाको व्यावसायिक खेती भइरहेको छ ।

आठराई गाउँपालिकाको थोक्लुङ, सक्रान्ति, छातेढुंगा र इवामा अदुवाको व्यावसायिक खेती शुरु भएको छ । “साउनको अन्तिम साताबाटै गाना कुहिने रोग देखा पर्यो”, आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सिनाले भने, “अदुवा बारीमा नै सकिन लाग्यो, एग्रोभेटबाट ल्याएको औषधिले पनि काम गरेन ।”

त्यहाँका अधिकांश किसानले लगाएको अदुवामा रोगको संक्रमण देखिएको छ । गतवर्ष पनि त्यहाँका किसानले लगाएको अदुवा रोगले सखाप पारेको थियो । कृषि प्राविधिकका लागि माग गरे पनि सुनवाइ नभएको किसानको गुनासो छ । पानी परेर घाम लाग्दा र माउ झिकेपछि अदुवा मर्न थालेको आठराई गाउँपालिका–५ छातेढुंगाका सोमनाथ आचार्यले बताए ।

“मकै कोदोभन्दा फाइदा हुने देखेर अदुवाको खेती थालियो, तर यसमा झन धेरै दुःख छ,” उनले भने ।

आम्दानी मनग्य हुने देखिए पनि अदुवाको खेतीदेखि बजारसम्म पु¥याउन निकै सकस हुने गर्छ । “खेती थाल्दैदेखि ध्यान दिनुपर्छ, माटो बनाएर मल पु¥याएर खेती नलगाए रोगले झनै सखाप पार्छ”, आचार्यले भने । विगतभन्दा यस वर्ष रोगको संक्रमण बढी देखा परेको छ । गत वर्ष पनि यस्तै रोगको संक्रमण देखापरेको थियो ।

“समस्या राख्दा कसैले चासो दिँदैन, प्राविधिक पनि आउँदैनन्, अन्दाजका भरमा किनेको औषधिले काम गर्दैन”, फेदाप गाउँपालिका–१, सिम्ले साक्फाराका कुमार खड्काले भने । खड्काले दुई क्विन्टल अदुवा रोपेका छन् । तर यस वर्ष रोगको संक्रमणका कारण १० क्विन्टलभन्दा बढी उत्पादन नहुने उनको भनाइ छ ।

किसानका अनुसार मलखाद मिलाएर रोपे एक क्विन्टल अदुवा रोप्दा आठ गुणाभन्दा बढी उत्पादन हुन्छ । यसपालि खेती लगाएको मध्ये आधाभन्दा बढी अदुवा बारीमै रोगले सखाप पारिसकेको किसानको भनाइ छ । त्यहाँका किसानले अदुवामा लागेको रोगबारे प्राविधिकको परामर्श बिनै निजी एग्रोभेटबाट विषादी किनेर प्रयोग गरिरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालय यसबारे बेखबर छ । गाउँ–गाउँमा सडकको पहुँच पुगेसँगै किसानले अदुवा खेतीको क्षेत्र बढाएका छन् । विसं २०५२ देखि शुरु भएको अदुवाको पछिल्लो दशकमा व्यावसायिक खेती ह्वात्तै बढेको फेदाप गाउँपालिका–३, जलजलेका दयाराम भट्टराईले बताए ।

अहिले जलजले गाउँका करिब ५०० भन्दाबढी घरधुरीले अदुवा खेती गरिरहेका छन् । रोगको संक्रमण कम र मौसममा उचित मूल्य पाए अदुवाबाटै त्यहाँका अधिकांश घरधुरीले वर्षदिनको हातमुख जोर्ने मेलो जुटाउने गरेका छन् । रोगको संक्रमणमा वृद्धि र मूल्यमा आएको कमीका कारण धेरै किसानले पछिल्लो वर्ष खेतीको क्षेत्रफल घटाएका छन् ।

जिल्लामा नसे र बोसे दुई जातको अदुवाको खेती बढी गरिन्छ । हाल कूल २६० हेक्टर क्षेत्रफलमा अदुवाको खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयकी बागवानी विकास अधिकृत दीपा देवले किसानले अदुवा खेतीको बारेमा जानकारी नै नलिई खेती लगाइरहेकाले समस्या आउने गरेको बताए ।

विशेषगरी ढुसीजन्य रोगका कारणले अदुवाको गानो कुहिने हुँदा प्रत्येक वर्ष नयाँ ठाउँमा रोप्दा रोग नलाग्ने उहाँको भनाइ छ । अदुवा रोप्नु अगाडि नै माटो परीक्षण गरेर लगाए पनि यस्तो समस्या नआउने उनको सुझाव छ । तर अहिले बाली निकाल्ने बेलामा देखिने रोगको खास उपचार नै छैन ।

विशेष