News

चुनावी चहलपहल शुरु

चुनावी चहलपहल शुरु

पाँचथर । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावी चहलपहल बढेको छ । 

निर्वाचनमा मुख्य गरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने छ । वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)ले प्रतिनिधि सभा र ‘क’ क्षेत्रबाट प्रदेश सभाको टिकट पाएको छ भने नेकपा (माओवादी केन्द्र)ले प्रदेश सभाको ‘ख’ क्षेत्रबाट टिकट पाएको छ । 

प्रतिनिधि सभाका लागि वाम गठबन्धनबाट वसन्तकुमार नेम्वाङ, प्रदेश सभा ‘क’ बाट गणेशकुमार काम्बाङ र ‘ख’ बाट इन्द्र आङ्बो (मौसम) चुनावी मैदानमा उत्रिएका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका लागि काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्वे तथा प्रदेश सभा ‘क’ बाट पार्टी सभापति नरेन्द्रकुमार केरुङ र ‘ख’ बाट पार्टी महासमिति सदस्य सुरेन्द्रकुमार दाहाल चुनावी मैदानमा छन् । 

लोकतान्त्रिक गठबन्धनलाई राप्रपा र राप्रपा प्रजातान्त्रिकले सहयोग गर्ने देखिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ । तमोर जलाशय बनाएर जनताको घरघरमा उज्यालो बनाउँदै प्रदेश नं १ लाई समृद्ध बनाउँदै नमूना प्रदेश बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको एमाले ऊर्जा विभाग सचिव वसन्तकुमार नेम्वाङ बताउँछन् । 

विसं २०७० को संविधान सभा निर्वाचनमा आफू पाँचथरको ‘क’ क्षेत्रबाट पराजित भए पनि जित्ने सांसदले भन्दा पाँचथरको विकास र समृद्धिको निम्ति काम गरेकाले आफूलाई जनताले भोट हालेर विजयी गराउनेमा विश्वस्त रहेको काँग्रेस पाँचथर ‘क’ क्षेत्रका उम्मेदवार नरेन्द्रकुमार केरुङ बताउँछन् । 

यसअघि स्थानीय तहको निर्वाचनमा आठवटा स्थानीय तहको निर्वाचनमा काँग्रेसले प्रमुखमा चार, एमालेले तीन तथा माओवादी केन्द्रले एउटा तह जितेको थियो । पाँचथरको ‘ख’ क्षेत्रमा उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य इन्द्र आङ्बो मौसम हिजोका जनप्रतिनिधिले काम गर्न नसकेकाले अबको चुनावपछि वाम गठबन्धनबाट स्थायी सरकार बन्ने र त्यसले जनताको इच्छा आकांक्षा पूरा गर्ने भएकाले आफूले उम्मेदवारी दिएको बताउँछन् । 

संविधान संशोधन ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीय संरचना बनाउनको निम्ति आफ्नो उम्मेदवारी रहेको संघीय समाजवादी फोरम नेपालको तर्फबाट ‘ख’ क्षेत्रमा उम्मेदवारी दिनुभएका एवीराज आङ्देम्वे बताउँछन् । 

जिल्ला निर्वाचन कार्यालयले चुनावको तयारी अघि बढाएको जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राईले बताए । जिल्लामा १२ वटा दलका २९ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

chunab

विशेष