त्रिसूली बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, अझै बढ्ने अनुमान
धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा शनिबार विहान रात्रिबस खसेर त्रिसूलीमा डुब्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मृतकमध्ये १८ जनाको सनाखत हुन बाँकी छ । सनाखत भएकाहरूमध्ये १० जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना भारतीय नागरिक रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार, नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको सो बसमा ६४ यात्रु रहेको र जसमध्ये १६ जना घाइतेको उद्दार गरिएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । केहीलाई बसले थिचेको हुनसक्ने आशंकामा खोजी भइरहेको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।