News

यी दुधे बालिकाको के कसुर दुई वर्ष देखि छन् जेलमा

यी दुधे बालिकाको के कसुर दुई वर्ष देखि छन् जेलमा

सुर्खेत । भेरीगंगा नगरपालिका घर भएका २ वर्षीया नितु विक र सुषमा पाण्डेले बाहिरी संसारलाई नियाल्न पाएका छैनन् । उनीहरूको तोते बोली, चञ्चले स्वभाव र बालापनका सबै जिज्ञासा जेलको पर्खालभित्रै खुम्चिएका छन् ।

आमाबाबुले गरेको गल्तीका कारण यी दुई नाबालिका सुर्खेत कारागारभित्र थुनिएका छन् । बाहिरी संसारसँग घुलमिल भई विद्यालयको आँगन टेक्ने बेला यी बालिका भने जेलभित्र बस्न बाध्य छन् ।

बाहिरी संसारमा जन्मिए पनि उनीहरू जेलभित्रै हुर्किंदै गएका छन् । पाँच महिनाकी हुँदा जेल पुगेकी नितुले बाहिरी संसार देख्न नपाएको ११ महिना भयो । आमाको काखमै कारागार पुगेकी सुषमा बाहिर निस्कन नपाएको दुई वर्ष बित्यो ।

अपराध गरेर अभिभावक थुनिएपछि घरमा रेखदेख गर्ने कोही नहुँदा दुवै नाबालिका जेलभित्रै बस्न बाध्य भएका हुन् । अपराधबिना नै जेलमा बस्नुपरेका उनीहरू पटक–पटक गेटसम्म आउँछन् । उनीहरूको आवाज न कसैले सुन्छन् न त कसैले बुझिदिन्छन् । बाहिर आउन नसकेपछि उनीहरू पुनः भित्रै फर्कने गरेका छन् ।

भेरीगंगाको मैनतडाका प्रमिसा विक र खिमबहादुर विकले गरेको गल्तीका कारण नितु जेलमा बस्नुपरेको हो । बहुविवाह मुद्दामा जिल्ला अदालतले कैद सजाय तोकेपछि खिमबहादुर र प्रमिसा कैद सजाय भुक्तान गरिरहेका छन् । बाबुआमाले कैद सजाय काट्ने अवधि बाँकी नै रहेकाले नितुले बाहिरी संसार नियाल्न अझै निकै समय पर्खिनुपर्नेछ । यसले उनको पढ्ने अधिकार कुण्ठित भएको छ । अभिभावकको गल्तीका कारण उनको भविष्य अन्योलमा परेको छ ।
भेरीगंगाकै चन्द्रकला पाण्डेको गल्तीका कारण सुषमा पनि जेल बस्न बाध्य छिन् । चन्द्रकला दुई वर्षअघि छिमेकीको घरमा आगो लगाएको अभियोगमा जेल चलान भएकी थिइन् । बाहिर संरक्षण गरिदिने कोही नभएपछि सुषमा आमासँगै कारागार पुगेकी हुन् । उनलाई पनि अक्षर चिनाउने बेला भइसकेको छ । तर, उनी कारागारभित्र अग्ला पर्खाल हेरेर बस्न बाध्य छिन् । बालिकालाई संरक्षण गरिदिने अभिभावक नहुँदा समस्या भएको कारागारले जनाएको छ।

कारागार सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रेशमलाल चौधरीले भने, ‘बाहिर पठाउँदा संरक्षण गरिदिने कोही छैन, तत्कालका लागि आमासँगै राख्नुपर्ने बाध्यता भयो । कुनै संघसंस्थाले उद्धार गरिदिए हुन्थ्यो, बालिकाले शिक्षा त पाउने थिए ।’

उनका अनुसार जिल्ला कारागार १५ जना क्षमताको रहे पनि हाल एक सय ७५ पुरुष, १६ महिला र दुई बालिका गरी एक सय ९४ जना छन् । महिलाका लागि दुई र पुरुषका लागि सात कोठा भए पनि एउटामै १२ भन्दा धेरै कैदी सुत्न बाध्य छन् । कोठामा नअटाएपछि पुरुष कैदीहरू त्रिपाल टाँगेर सुत्नुपर्ने बाध्यता रहेको जनाइएको छ । क्षमताभन्दा बढी कैदी भएपछि कारागारमा व्यवस्थापनामा पनि समस्या भएको छ ।

विशेष