News

उदयपुर र गुल्मीमा सवारी दुर्घटना : मृतकको संख्या १७ पुग्यो

उदयपुर र गुल्मीमा सवारी दुर्घटना : मृतकको संख्या १७ पुग्यो

काठमाडौं । उदयपुर र गुल्मीमा सोमबार दिउँसो भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ११ जना घाइते भएका छन् । 

उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ र गुल्मीको वीरबासमा माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको हो ।

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार मृतकको सनाखत हुन सकेको छैन । सो घटनामा चालकसहित एक जना महिला र ३ वर्षीय बालक घाइते छन् ।

यसैगरी बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बीरवासमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएका तीन जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा ३ जना महिला र ६ जना पुरूष रहेका छन् । उपचारका क्रममा मृत्यु हुनेमध्ये एक जना गाडी चालक रहेको प्रहरीले बताएको छ ।

सो घटनामा ५ जना पुरूष, दुई जना बालबालिका र एक जना महिला घाइते भएका छन् । मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन् ।

विशेष