विदेश

सेनामा तेस्रो लिङ्गीलाई काम गर्न नदिने ट्रम्पको योजना असफल

सेनामा तेस्रो लिङ्गीलाई काम गर्न नदिने ट्रम्पको योजना असफल

काठमाडौं । अमेरिकाको एक संघीय अदालतले अमेरिकी सेनामा तेस्रो लिंगीले काम गर्न नपाउने गरी लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो लिंगीमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध निर्णय गरेका थिए । तर संघीय अदालतका न्यायाधीश कोलिन कोल्लार कोटेलीले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगीले सेनामा रहेर काम गर्न पाउने गरी ल्याएको नियमको प्रतिस्थापनका लागि प्रेसिडेन्सियल मेमो जारी गरेका थिए ।

त्यस विरुद्ध गएको अगस्टमा अदालतमा मुद्दा दायर भएको थियो । अदालतको फैसलासँगै तत्कालका लागि अमेरिकी सेनामा रहेका तेस्रो लिंगीले आफ्नो यौनिक परिचय खुलाएर पनि सेवा गर्न पाउने भएका छन् भने नयाँ भर्नामा पनि तेस्रो लिंगीले अवसर पाउने छन् ।

राष्ट्रपति ट्रम्पले तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने आरोप लगाउने गरेका छन् । उनले तेस्रो लिंगीका कारण सेनामा स्वास्थ्य खर्च निकै बढ्ने तथा विभिन्न खालको अवरोध आउने भएकाले उनीहरुलाई सेनामा काम गर्न नदिइने बताएका थिए ।

विशेष