News

गोविन्द केसीले १३औं पटक आमरण अनसन सुरु गरे, यस्ता छन् माग

गोविन्द केसीले  १३औं पटक आमरण अनसन सुरु गरे, यस्ता छन् माग

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर डा गोविन्द केसी बिहीबारदेखि आमरण अनशन सुरु गरेका छन् । व्यवस्थापिका–संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदनअनुसार संशोधन हुनुपर्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामाकण्ठ मकाजू र डिन डा. राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्नेलगायत चारबुँदे माग राख्दै डा. केसीले अनशन थालेका हुन् ।

 डा. केसीको यो १३औं अनशन हो । चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्‍बाट पारित गर्न लागिएको भन्दै उनी असोज दोस्रो साता १२औंपटक आमरण अनशन बसेका थिए । ११औं अनशन तराईमा आएको बाढीका कारण २३औं दिनमा तोडेका उनले १२औं अनशन दसैंका कारण तोडेका थिए ।

९ असोजदेखि १२औं अनशन बसेका उनले आफ्ना माग प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै ती माग १८ असोजसम्म पूरा नगरे १९ असोजदेखि सो अनशनलाई निरन्तरता दिने बताएका थिए । दसैंका कारण तेस्रो दिनमै अर्थात् ११ असोजमा उनले १२औं अनशन तोडेका थिए । चिकित्सा शिक्षा विधेयक अन्तिम अवस्थामा तोडमोड गरी मेडिकल माफियामुखी बनाइएको डा। केसीको आरोप छ ।उनले एमबीबीएस अध्ययनका लागि सरकारले तोकेको शुल्कअनुसार उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यकाबाहिर ४२ लाख ५० हजार तथा बीडीएसको शुल्क १९ लाख ३२ हजार रुपैयाँ तथा स्नातकोत्तरको शुल्क २२ लाख ५० हजार कायम गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै भ्रष्टाचारको आरोपमा बर्खास्त गरिएका नेपाल आयल निगमका निलम्बित प्रमुख गोपाल खड्कालाई कारबाही गर्दै उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्नुपर्ने र सो कार्यमा संलग्न सबैमाथि छानबिन गरी कारबाही गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापनका लागि बजेट निकासा गर्नुपर्ने र सरकारले विभिन्न ठाउँमा मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने लगायत माग छन् ।

विशेष