विदेश

हनिप्रितकै श्रीमानले आफ्नै आँखाले हनिप्रित र रामरहिमबीचको यौन सम्बन्ध देखेका थिए

हनिप्रितकै श्रीमानले आफ्नै आँखाले हनिप्रित र रामरहिमबीचको यौन सम्बन्ध देखेका थिए

भारतको सीबीआई अदालतद्वारा बलात्कारी सावित भएर जेल चलान भएका बाबा गुरमित रामरहिम सिंहकी विश्वासपात्र तथा कथित धर्मपुत्री हनिप्रित इन्सान पक्राउ परेकी छिन् । ३९ दिनपछि उनलाई मंगलबार पञ्जाबको मोहालीबाट गिरफ्तार गरिएको हो । हनिप्रितलाई बाबा रामरहिम बलात्कारको मामिलामा दोषी ठहरिएपछि त्यहाँ भड्किएको हिंसाका लागि जिम्मेवार ठहर्‍याइएको छ भने उनीमाथि देशद्रोहको आरोपसमेत लागेको छ । 

हनिप्रित बाबा रामरहिम जेल गएकै दिन अन्डरग्राउन्ड भएकी थिइन् । अन्डरग्राउन्ड भएलगत्तै भारतीय प्रहरीले उनी नेपाल भागेको आशंकामा नेपालसँग सीमा जोडिएका सीमावर्ती इलाकाहरूमा पनि तीव्र खोजबिन गरेको थियो । रामरहिमको जेल गएपछि उनी भागेर नेपाल नआएको बरु दिल्ली, हरियाणा, राजस्थान, पञ्जाव वरपर घुमिरहेको तथ्यसमेत सार्वजनिक भएको छ । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार पञ्चकुला प्रहरीका आठवटा एसटीआईले पाँचवटा राज्यमा हनिप्रितको खोजी गर्दै १ हजार किलोमिटरभन्दा लामो यात्रा गरेका थिए । हनिप्रित प्रहरीद्वारा गिरफ्तार हुनुपूर्व भारतीय मिडियामा देखिएकी थिइन् । 

नेतासँग सम्पर्कमा थिइन् ? 

हनिप्रित दुई–तीन दिनदेखि मोहाली एरियामा थिइन् । उनीसँग तीनवटा गाडी थिए, जो उनका अगाडि–पछाडि गुड्थे । तीन रात उनले चण्डीगढ आसपास खाना खाएकी थिइन्, जसलाई उनकी साथी सुखदीप कौरले गाडीमा लिएर आउँथिन् । सुखदीप पनि डेराकै अनुयायी हुन् । 

दैनिक भाष्करले हनिप्रित पन्जाबका एक नेताको सम्पर्कमा रहेको जनाएको छ । ती नेताकै आग्रहमा उनी मोहालीमा बसेको पनि समाचारमा उल्लेख गरिएको छ । हनिप्रित दुई दिन एउटा फल्याटमा बसेकी थिइन् भने त्यसपछि उनलाई एउटा कोठामा सारिएको थियो । एक प्रहरी अधिकृतले पनि उनलाई गाइड गरिरहेको बताइएको छ । रोचक त के भने ती नेताकै आग्रहमा प्रहरी अधिकारीहरूले हनिप्रितसँग सम्पर्क गरेका थिए, त्यसपछि मिडियासँग उनको अन्तर्वार्तासमेत गराइएको थियो । 

प्रियंकाबाट यसरी बनिन् हनिप्रित 

डेरा सच्चा सौदामा हनिप्रितको हैसियत निकै ठूलो थियो । डेरासँग जोडिएका मानिसहरूलाई आधार मान्दै दिइएका समाचारअनुसार रामरहिमपछि डेराको सम्पूर्ण जिम्मेवारी हनिप्रितको हुन्थ्यो । हनिप्रितको वास्तविक नाम प्रिंयका तनेजा हो । उनको जन्म सन् १९७५ मा हरियाणाको फत्तेहावादको जगजीवनपुरामा भएको थियो । 

प्रियंकाको विवाह विश्वास गुप्तासँग भएको थियो । अहिले विश्वास गुप्तासँग उनको डिभोर्स भैसकेको छ । भनिन्छ, हनिप्रितले डेरालाई सम्हालिनन् मात्र, उनले रामरहिमको चलचित्र एमएसजीको निर्देशनमा समेत मद्दत गरेकी थिइन् । 

हनिप्रितका हजुरबुवा पहिलेदेखि नै डेरासँग जोडिएका थिए । हनिप्रितका बुवा रामानन्द व्यापारी हुन् । हनिप्रितले प्रारम्भिक अध्ययन फतेहावादको डीएवी स्कुलबाट गरेकी थिइन् । हनिप्रितका पूर्व पति विश्वास गुप्ताको दाबीअनुसार उनीहरूको विवाह सन् १९९९ मा रामरहिमकै आग्रहमा भएको थियो । विश्वासको परिवारका सदस्यहरू पनि डेरासँग जोडिएका थिए । 

हनिप्रितलाई रामरहिमले धर्मपुत्री बनाएको विषयमा पनि विवाद छ । भनिन्छ, हिन्दु एडप्सन एन्ड मेन्टेनेन्स एक्ट, १९५६ का आधारमा हनिप्रितलाई जसरी रामरहिमले एडप्ट गरेका थिए, त्यो अवैध छ । हनिप्रित र बाबाको उमेरमा १३ वर्षको अन्तर छ, जबकि धर्मपुत्री बनाउन उमेरको अन्तर २१ वर्ष चाहिन्छ ।

रामरहिमका पहिले नै चनरप्रित र अमरप्रित कौर नामका दुई छोरी छन् । यस्तोमा उनले हनिप्रितलाई कानुनी रूपमा एडप्ट गर्न सक्दैनन् । कानुनी मामिलाका जानकारहरूका अनुसार जुन व्यक्तिले कुनै महिलालाई एडप्ट गर्छ भने उसको उमेर उक्त महिलाभन्दा २१ वर्ष बढी हुनुपर्छ । यो मामिलामा पनि रामरहिम सही ठाउँमा छैनन् । भारतीय मिडियाहरूको दाबी छ कि रामरहिमले जहिले पनि हनिप्रितलाई आफूसँगै राख्थे र आफ्नी पत्नीलाई सदैव तिरस्कार गर्थे जसलाई पुष्टि गर्न एउटा भिडियो भारतीय टिभी च्यानलहरूले प्रसारण समेत गरेका थिए जसमा एक समारोहका क्रममा हनिप्रितले रामरहिमकी पत्नीको हात हटाएको देखिन्छ । 

गुरमित रामरहिमलाई २५ अगस्टमा जेल लाने क्रममा हनिप्रित पनि सँगै सरकारी हेलिकप्टरबाट सुनरिया जेल पुगेकी थिइन् । भारतीय मिडियाहरूका अनुसार उनले त्यतिबेला बाबासँगै जेलभित्र जाने जिद्दीसमेत गरेकी थिइन्, तर त्यतिबेला प्रहरीले उनलाई त्यत्तिकै छाडिदिएको थियो । त्यसपछि हनिप्रित गायब भएकी थिइन् । 

सम्बन्धमाथि प्रश्न

हनिप्रितले यही वर्षको फेब्रुअरीमा ट्वीट गरेकी थिइन्, ‘गुरमित रामरहिम पापाजी, तपाईं रातो गुलाबभन्दा पनि प्यारो हुनुहुन्छ, म तपाईंको हरशैली र रूपलाई अगाध माया गर्छु । तपाईंलाई रोज डेको शुभकामना ।’ हनिप्रित रामरहिमका सबै चलचित्रसँग जोडिएकी थिइन् । उनले एमएसजी–२ मा राम रहिमकी छोरीको भूमिका निर्वाह गरेकी थिइन् । रामरहिमका चलचित्रलाई हरियाणा सरकारका तर्फबाट ट्याक्स छुट मिल्थ्यो । 

हनिप्रितका पूर्व पति विश्वास गुप्ताले गुरमित रामरहिम सिंह र हनिप्रितको सम्बन्धलाई लिएर कैयौं कुरा भनेका छन् । ती कुरा उनले पत्रकार सम्मेलनमा समेत व्यक्त गरेका थिए । विश्वासले दाबी गरेका छन्— रामरहिम हनिप्रितप्रति छोरीको होइन, श्रीमतीको जस्तो व्यवहार गर्थे । विश्वासले यो पनि दाबी गरेका छन् कि हनिप्रित र राम रहिमले यौनसम्बन्ध स्थापित गरिरहेको आफ्नै आँखाले देखेका थिए । विश्वासले भनेका छन्, ‘रामरहिम मलाई गुफा बाहिर पठाउँथे । हाम्रो सुहागरातकै साँझ उनले हनिप्रितलाई मेरो घरबाट उठाएर आफ्नो डेरामा लिएर गए । उनले मसँग सोधे बाबा र छोरी राति सँगै बस्न सक्छन् नि ? मैले भने ठीक छ । उनी सबैका अगाडि मलाई ज्वाइँ बताउँथे ।’ 

गुप्ता भन्छन्— रामरहिमले मानिसहरूको आँखामा धूलो हालेका छन् । मिडियासँग कुरा गर्दै उनले आफ्नो परिवार डेराको निकै नजिक रहेको समेत बताएका छन् । ‘सन् १९९९ मा हनिप्रितसँग मेरो विवाह भएको थियो । मैले विवाहभन्दा पहिले हनिप्रितलाई देखेको पनि थिइन् । म गुरमित राम रहिम सिंहलाई लामो समयदेखि चिन्थे,’ विश्वासले भनेका छन् । 

मिडियासँगको कुराकानीमा उनको दाबी थियो, ‘मैले उनीहरू दुवैलाई एउटा खाटमा नांगो देखे । गुफाको माथि एउटा कोठा थियो । अहिले जुन गुफा छ त्यो बिल्कुलै नयाँ हो । बाबा हरेक समय आफ्नो गाडीमा हतियार राख्थे । ममाथि दाइजोसम्बन्धी फर्जी केस दायर गरिएको थियो । मलाई ज्यान मार्ने धम्कीसमेत दिइयो । मलाई बाबु–छोरीबीच सल्लाह गर्नु छ भनेर कोठाबाहिर पठाइन्थ्यो र उनीहरू दुई–तीन घण्टा कोठामा सँगै रहन्थे । मलाई भनिन्थ्यो कि हनिप्रित बाबाको सेवामा छिन् ।’ गुप्ताले रामरहिम जेलमा भए पनि अझै निकै शक्तिशाली रहेको समेत बताएका छन् । 

रामरहिमका विरुद्ध पहिलो पटक सन् २००२ मा मुद्दा परेको थियो । एक महिला अनुयायीले तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई गुमनाम पत्र लेख्दै रामरहिमविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । पत्र लेख्ने महिलाले आफूमाथि रामरहिमले लगातार तीन वर्ष बलात्कार गरेको दाबी गरेकी थिइन् जसको छानबिन सीबीआईले गरेको थियो ।

के भन्छिन् हनिप्रित ? 

पक्राउ पर्नुपूर्व हनिप्रितले एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफू निर्दोष भएको दाबी गरेकी छिन् । ‘जुन हनिप्रितलाई तपाईंहरूले देखाइरनुभएको छ, ऊ त्यस्ती छैन । मिडियामा हनिप्रितलाई यसरी प्रस्तुत गरिएको छ कि उसलाई स्वयंसँग डर लाग्न थालेको छ,’ उनले उक्त अन्तर्वार्तामा भनेकी छिन्, ‘म आफ्नो मानसिक स्थितिको बयान गर्न सक्दिनँ । मलाई देशद्रोही बनाइएको छ, जुन बिल्कुलै गलत हो । आफ्नो पापासँग एउटी छोरी कोर्ट पुग्छे भने त्यो बिना अनुमति सम्भव छैन ।’ 

एउटी केटी यति ठूलो फोर्सका बीच एक्लै बिनाअनुमति कसरी सरकारी हेलिकप्टर चढेर जेलसम्म पुग्न सक्छे ? हनिप्रितले भनेकी छिन्, ‘त्यसपछि मलाई भनियो कि तिमी त यहाँ नआउनुपर्ने । सबै तथ्य संसारका अगाडि छन् । यस्तोमा म कहाँ दंगामा सहभागी थिएँ ? मेरा विरुद्ध कोसँग के प्रमाण छ ? मैले दंगाका लागि कसैलाई केही भनेको तपाईंहरूले कहीं सुन्नुभएको छ ? हामीलाई त लागेको थियो कि बिहान अदालत गएपछि साँझ सफाइ पाएर डेरामा आइहाल्छौं ।’रामरहिमसँगको सम्बन्धका विषयमा पनि हनिप्रितले आफ्नो मुख खोलेकी छिन् । ‘मलाई थाहा छैन, किन बाबु छोरीको पवित्र सम्बन्धलाई यसरी उछालिँदै छ ? एउटा बाबु–छोरीको सम्बन्धलाई किन यसरी प्रस्तुत गरियो ? के कुनै बुवाले आफ्नी छोरीको शिरमा हात राख्न सक्दैनन् ? के एउटी छोरीले आफ्नो बुवालाई प्रेम गर्न सक्दिनन् ?’ त्यस क्रममा हनिप्रितले रामरहिमलाई निर्दोष समेत दाबी गरेकी थिइन् ।

साप्ताहिक (कान्तिपुर)

 

विशेष