बन्दुक स्वचालित बनेपछि बढेको चिन्ता
काठमाडौं । संयुक्त राज्य अमेरिकामा नागरिकले बन्दुक राख्न पाउनुपर्ने अधिकारको वकालत गर्दै आएका लास भेगास घटनादेखि भने झस्किएका छन् । एउटा व्यक्तिले राखेको बन्दुक त्यतिका मानिस मार्नसक्नेगरी कसरी शक्तिशाली बन्न पुग्यो भन्ने बहस अहिले उनीहरुबीच सुरु भएको छ ।
हुनपनि लास भेगास नरसंहार कुनै एकजना व्यक्तिले आफूसँग भएको एउटै बन्दुकबाट सम्भव छैन । कन्सर्ट भइरहेको स्थानमा नजिकको होटलको ३२ औँ तल्लाबाट भूईँमा गरेको आक्रमणबाट ५९ जना मारिएका छन् भने ५०० भन्दाबढी घाइते छन् । घाइतेलाई धेरै चोट लागेको, शरीर थिलथिलो भएको चिकित्सक बताउँछन् ।
यसैहप्ता ६४ वर्षीय एकजना अमेरिकी नागरिक स्टेफन प्याडकले आफूसँगको अनुमतिप्राप्त बन्दुकले लास भेगासमा गरेको नरसंहारको संसारमै चर्चा छ अहिले । त्यसमा आफ्नो संलग्नताको दाबी आतंकवादी समूह आइएसले गरेको भए पनि प्रहरी पत्याएको छैन । आइएससँग प्याडकको संलग्नताको चर प्रहरीले भटेको छैन ।
बन्दुक कति शक्तिशाली थियो ? घटनाको केही दिन यो चर्चा चल्यो । र प्रहरीले अनुसन्धान थाल्यो । तथ्य भेटियो आक्रमणकारीले आफ्नो बन्दुकमा अन्य अत्याधुनिक उपकरण जोडेर घातक बनाएका रहेछन् र यसैका कारण त्यत्रो नरसंहार भएको रहेछ । यो रहस्य खुलेपछि यतिखेर अमेरिकामा बन्दुकलाई अधिकार ठान्नेहरु पनि झस्किएका हुन् ।
लास भेगासमा नरसंहार गराउनकै लागि आफ्नो बन्दुकमा ‘बम्प स्टक’ नामक उपकरण जोडेका रहेछन् । अहिले आएर बन्दुक अभियन्ताले त्यस्तो नियम कसैलाई पनि दिन नहुने बताएका छन् । यस्तो प्रविधिमा प्रतिबन्ध लगाउनुपर्ने उनीहरुको नयाँ माग आएको छ ।
कुनै व्यक्तिसँग रहेको अनुमतिप्राप्त बन्दुकमा उपकरणहरु जडान गरी आमनरसंहारमा यसरी प्रयोग गर्न थालेपछि यसले निम्त्याउने जटिलताबारे वकालत थालिएको छ । बन्दुकलाई अधिकारका रुपमा वकालत गरिरहेका उनीहरुले नियामकहरुलाई ‘बम्प स्टक’ प्रविधि संघीय कानूनसँग तादात्म्य राख्छ या राख्दैन भनी तत्काल समीक्षा थाल्न आग्रह गरेका छन् ।
झन बढ्दो छ अमेरिकामा बन्दुक अधिकार । सन् २००० मा गरिएको पिउ सर्वेका अनुसार २९ प्रतिशत अमेरिकीले मात्र बन्दुक अधिकारका पक्षमा मत राखेका थिए । करिब ६५ प्रतिशत अमेरिकीको बन्दुक नियन्त्रण गर्नुपर्ने मत थियो । तर अहिले भने बन्दुक अधिकारका पक्षधर झन् बढेका छन् । सन् २०१६ मा गरिएको यसै विषयको सर्वेमा ५२ प्रतिशत नागरिकले बन्दुक राख्न पाउनुपर्ने बताएका थिए । जम्मा ४६ प्रतिशत नागरिक मात्र बन्दुकको विपक्षमा या बन्दुक नियन्त्रणका पक्षमा थिए ।
अमेरिकामा बन्दुकलाई संस्कृतिको रुप दिर्इँदैछ, बरु बन्दुक नियन्त्रणको आवाज झन मधुरो हुदैछ । सो संस्थाले यसैबर्ष पनि बन्दुकबारे सर्वेक्षण गरेको थियो । त्यसमा ५१ प्रतिशत अमेरिकी बन्दुक नियन्त्रण गर्न नहुने पक्षमा छन् । सन् २०१७ मा मात्र कम्तीमा ३४६ जनाको ज्यान गइसकेको छ नागरिकको बन्दुकबाट । यसरी अमेरिकामा गएका तीन बर्षयताको तथ्यांक हेर्दा प्रत्येक दिन बन्दुकबाटै कम्तीमा एकजनाको ज्यान गइरहेको छ । कतिपय बर्षमा त त्यो भन्दा पनि बढी छ ।
अमेरिकी संस्था नेशनल राइफल एसोशिएसनको मनमा प्याडकले आफ्नो बन्दुक स्वचालित बनाएर पड्काएपछि झस्को पसेको हो । उनले यस्तो प्रविधिको प्रयोग गरेर आफ्नो बन्दुकलाई शक्तिशाली बनाए कि यसले अब अमेरिकी बन्दुक संस्कृतिमा नै प्रश्न उठाइदिएको छ । यसअघि भान्सा, विद्यालय, कार्यालय वा होटलमा कुनै सन्कीले साथको बन्दुकबाट केहीको ज्यान लिने गरेकोमा अब अमेरिकी बन्दुकहरु यसरी स्वचालित बन्दै जाने हो भने यसले अरु पनि लास भेगास दोहोरिन सक्छ । त्यसैले लाइसेन्सप्राप्त बन्दुकलाई अब त्यसो गर्न दिन नहुनेमा उनीहरुको चासो बढेको छ ।
त्यसो त दि न्युयोर्क टाइम्समा ड्याभिड ब्रुक्सले लेखेअनुसार विश्लेषण गर्ने हो भने अमेरिकामा बन्दुक नियन्त्रण अब निकै गाह्रो विषय भइसकेको छ । उनको तर्क छ, अहिल्यै पनि उक्त बन्दुक अधिकारको वकालत गर्नेहरु धेरै बलिया छन् । राज्यले यदि बन्दुक नियन्त्रणको कानुन बनाउने भयो भने पनि उनीहरुले संसदसम्मै आफ्नो शक्ति पुर्याउन सक्छन् । उनीहरुसँग धेरै पैसा छ र पैसाले नै यस्तो अभियानलाई निस्तेज पारिदिन सक्छन् । उनीहरु आम रुपमा अमेरिकीसँग पुग्न सकेका छन् । जसका कारण अमेरिकामा अहिले बन्दुक राख्नु संस्कृति नै बन्न पुगेको छ ।
एक अमेरिकी अनुसन्धान संस्थाको हवालादिँदै भारतको जनसत्ता दैनिकले यसैहप्ता भेगासको पाठ शीर्षकको आफ्नो सम्पादकीयमा भनेको छ, अमेरिकामा तीन बर्षमात्र अघि प्रहरी र नागरिसँग गरी करिब ३७ करोड वटा बन्दुक थिए । जबकि त्यस समय अमेरिकाको जनसंख्या ३२ करोड मात्र थियो ।
सन् २०१४ मा निकालिएको पछिल्लो तथ्यांकमा अमेरिकामा भएका हत्याकाण्डबाट करिब १५ हजार जनाको ज्यान गएको थियो । ती हत्यामध्ये करिब ६८ प्रतिशतको ज्यान नागरिकका बन्दुकबाटै भएको थियो । त्यस्तै १७ बर्षमुनिका करिब १३ सय बालबालिका घरमा रहेको बन्दुक चलाउदा घाइते भएका थिए ।
निवर्तमान अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालको उत्तरार्धतिर भन्नुहुन्थ्यो— मेरो कार्यकालमा गर्न नसकेको र पछुतो लाग्दो एउटा काम बन्दुक नियन्त्रण गर्न नसक्नु हो । उहाँले अमेरिकामा बन्दुकले यसरी संस्कृतिको रुप लिएको छ भनेर आफूले कहिल्यै नसोचेको पनि बताउँथे ।
साँच्चै नै यो बन्दुक संस्कृतिले अमेरिकालाई कहाँ पुर्याउला भनेर चिन्ता गरिरहेकाहरु अहिले झन् ठूलो त्रास र शोकमा छन् । उनीहरुको पछिल्लो त्रास स्वभावत भेगास हो र त्यो भन्दा पनि यति ठूलो संख्याका अमेरिकी बन्दुक यसरी नै स्वचालित र अत्याधुनिक बन्दै गए भने यसले देशको भविश्य के होला भन्ने पनि हो ।